१३ असार २०८३, शनिबार

खानेपानी आयोजनाको काम अन्तिम चरणमा

खानेपानी आयोजनाको काम अन्तिम चरणमा
प्रतिकात्मक तस्वीर

काभ्रेपलाञ्चोक – जिल्लाको बनेपा, धुलिखेल र पनौती नगरपालिकाका बासिन्दाका लागि शुद्ध खानेपानी उपलब्ध गराउने उद्देश्यले ६ वर्षअघि शुरू गरिएको ‘काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजना’ निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।

विक्रम संवत् २०६९ मंसिरमा आयोजना निर्माणबारे सम्झौता भएको थियो । निर्माण कार्य २०७० जेठदेखि शुरू भएको हो ।

हालसम्म आयोजना निर्माणको म्याद ८ पटक थप गरिएको छ । १ लाख ३६ हजार जनसंख्यालाई लक्ष्य गरी थालिएको आयोजनाको लागत १ अर्ब २९ करोड ९२ लाख रहेको छ । 

हालसम्म ९५ प्रतिशत काम सम्पन्न भएको आयोजना प्रमुख नारायण श्रेष्ठले जानकारी दिए । ३ मुहान र पानी प्रशोधन केन्द्र निर्माण भइसकेको छ । 

पनौती–१२ भालेश्वर दोभानमा पाइप ममर्तको काम भइरहेको छ । सडक डिभिजन र नगरपालिकाले सडक विस्तारका क्रममा पाइपलाइन बिगारेकाले मर्मत गर्नुपर्ने अवस्था आएको काभ्रे उपत्यका एकीकृत खानेपानी कार्यालयका प्राुख श्रेष्ठले बताए । ‘पुराना खानेपानी पाइपलाइनमा छिट्टै पानी जाने र नयाँमा अलि ढिला हुनेछ,’ उनले भने । पनौतीको चाँमखर्क र सल्लेमा छुट्टै तरिका अनुसार प्रशोधन केन्द्र निर्माण गरी वितरण गर्नुपर्ने भएकाले ढिला भएको हो । 

आयोजनाका इन्जिनीयर तारा प्रधान छिट्टै पानी वितरण गरिने बताउँछन् । ‘तिहारपछि मात्रै पानी उपलब्ध गराउन सकिन्छ,’ उनले भने । आयोजना नेपाल सरकार, एशियाली विकास बैंक, नगरपालिका र खानेपानी बोर्डको सहयोगमा निर्माण भइरहेको छ । 

salt training

कमेन्ट गर्नुहोस्