२६ जेठ २०८३, मंगलबार

निर्वाचन आयोगले गर्‍यो उपनिर्वाचनका लागि दल दर्ता आह्वान

निर्वाचन आयोगले गर्‍यो उपनिर्वाचनका लागि दल दर्ता आह्वान

काठमाडौं – निर्वाचन आयोग नेपालले आगामी मंसिर १४ गते हुने उपनिर्वाचनमा भाग लिन चाहने राजनीतिक दललाई दल दर्ताका लागि निवेदन दिन आह्वान गरेको छ ।

आयोगका प्रवक्ता शंकरप्रसाद खरेलका अनुसार दल दर्ताका लागि निवेदन दिने म्याद भदौ मसान्तसम्मका लागि तोकिएको छ ।

२०७४ सालको प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तह निर्वाचनमा भाग लिएका दलहरुले उपनिर्वाचनका लागि दल दर्ता गर्नुपर्ने छैन तर २०७४ सालको निर्वाचनपछि एकीकरण भई नयाँ नाम कायम भएका र नयाँ दर्ता भएका दलले भने उपनिर्वाचन प्रयोजनका लागि अनिवार्यरुपमा दल दर्ता गराउन पर्नेछ ।

आगामी मंसिर १४ गते प्रतिनिधिसभा सदस्य १, प्रदेशसभा सदस्य ३, नगरपालिकाको प्रमुख १, गाउँपालिकाको अध्यक्ष ३, उपाध्यक्ष १ र वडाध्यक्ष ४२ गरी ५१ पदका लागि उपनिर्वाचन हुँदैछ ।

राजनीतिक दलले विधान, नियमावली, घोषणापत्र, निर्वाचन चिह्न, दर्ताका लागि भएको केन्द्रीय समितिको निर्णय, वार्षिक लेखा परीक्षण प्रतिवेदन, पछिल्लो महाधिवेशन सम्पन्न भएको मिति, कार्यकारिणी समितिका पदाधिकारी र सदस्यको संख्याजस्ता विषय खुुलाएर निवेदन दिनुपर्ने आयोगले जनाएको छ ।

निर्वाचन आयोगमा दर्ता रहेको राजनीतिक दलको संख्या १ सय ३२ रहेको प्रवक्ता खरेलले जानकारी दिए । उपनिर्वाचनको तयारीका क्रमममा मतदाता नामावलीलाई अन्तिम रुप दिने कार्यमा आयोग अघि बढिरहेको छ । भदौको अन्तिम सातासम्ममा सम्बन्धित निर्वाचन र वडामा दाबी विरोधको कार्यक्रम सञ्चालन हुनेछ ।

दाबी विरोधको कार्यक्रममा आफ्नो नाम सच्याउनुपर्ने देखिएमा निवेदन दिएर सच्याउन सकिने, गलत नाम समावेश भएको रहेछ भने उजुरी दिन सकिने भएको हुँदा निर्वाचन आयोगले सम्पूर्ण मतदाता र आम नागरिकलाई दाबी विरोध कार्यक्रममा सक्रियतापूर्वक सहभागी हुन आग्रहसमेत गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्