
काठमाडौं – गत आर्थिक वर्ष २०७५/०७६ मा झण्डै ९ खर्ब विप्रेषण भित्रिएको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको गत आवको ‘देशको वर्तमान आर्थिक तथा वित्तीयस्थिति’मा विप्रेषण आप्रवाह ८ खर्ब ७९ अर्ब २७ करोड पुगेको उल्लेख छ ।
गत आर्थिक वर्ष २०७५/०७६ मा विप्रेषण आप्रवाह १६.५ प्रतिशतले वृद्धि भएको छ । आर्थिक वर्ष २०७४/०७५ मा ७ खर्ब ५५ अर्ब ६ करोड विप्रेषण भित्रिएको थियो । अघिल्लो वर्ष विप्रेषण आप्रवाह ८.६ प्रतिशतले बढेको थियो ।
अमेरिकी डलरमा विप्रेषण आप्रवाह ७.८ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्ष यस्तो आप्रवाह १०.२ प्रशितले बढेको थियो ।
गत आवमा श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) का आधारमा वैदेशिक रोजगारीमा जानेको संख्या ३२.६ प्रतिशतले घटेको छ । अघिल्लो वर्ष यस्तो संख्या ९.३ प्रतिशतले घटेको थियो ।
पुनः श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या समीक्षा वर्षमा ५.४ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष यस्तो संख्या ०.६ प्रतिशतले घटेको थियो ।
आर्थिक वर्ष २०७५/०७६ मा चालू खाता २ खर्ब ६५ अर्ब ३७ करोडले घाटामा रहेको छ । अघिल्लो वर्ष यस्तो घाटा २ खर्ब ४७ अर्ब ५७ करोड रहेको थियो । यस्तै आव २०७५/०७६ मा शोधनान्तरस्थिति ६७ अर्ब ४० करोड रुपैयाँले घाटामा रहेको केन्द्रीय बैंकले जनाएको छ ।
अघिल्लो वर्ष शोधनान्तरस्थिति ९६ करोड रुपैयाँले बचतमा रहेको थियो ।
आर्थिक वर्ष २०७५/०७६ मा पूँजीगत ‘ट्रान्सफर’ १५ अर्ब ४६ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी १३ अर्ब ७ करोड रहेको छ । अघिल्लो वर्ष पूँजीगत ट्रान्सफर १७ अर्ब ७२ करोड र प्रत्यक्ष वैदेशिक लगानी १७ अर्ब ५१ करोड रहेको थियो ।