
काठमाडौं – संघअन्तर्गत विभिन्न राजपत्रांकित पदहरूमा रिक्त दरबन्दी पूर्तिका लागि आवेदन आह्वान गर्ने तयारी अघि बढेको छ ।
कर्मचारी समायोजनका कारण गतवर्ष नयाँ कर्मचारी लिइएको थिएन । अन्तत: लामो समयपछि संघका लागि विज्ञापन खुल्ने तयारी अघि बढेको हो ।
स्थानीय तहका लागि भने लोक सेवा आयोगबाट यसअघि नै ठूलो संख्यामा विज्ञापन प्रकाशित गरी परीक्षा समेत भइसकेको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अधिकृतभन्दा माथिका पदमा रिक्त दरबन्दीको विवरण संकलन गरिरहेको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता भुपाल बरालले रिक्त दरबन्दीको विवरण संकलन भइरहेको बताए ।
'हामीले रिक्त दरबन्दीको विवरण संकलन गरिरहेका छौं,' सहसचिव बरालले भने, 'यो नियमित प्रक्रिया हो ।'
विवरण संकलनपछि रिक्त दरबन्दी यकिन गरी मन्त्रालयले लोक सेवा आयोगमा पठाउने छ ।
अधिकांशले पठाए विवरण
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न मन्त्रालय तथा संघअन्तर्गतका निकायहरूलाई रिक्त दरबन्दीको विवरण पठाउन पत्राचार गरेको थियो ।
त्यसका लागि दिइएको एक महिनाको समय सम्पन्न भइसकेको छ । ४/५ वटा मन्त्रालयबाहेक अन्यबाट विवरण प्राप्त भइसकेको मन्त्रालय स्रोतले लोकान्तरलाई जानकारी दियो ।
'विभिन्न मन्त्रालयसहित संघअन्तर्गतका निकायहरूबाट रिक्त दरबन्दीको विवरण प्राप्त हुने क्रम जारी छ,' स्रोतले भन्यो, 'दिइएको समयसीमा सकिएपनि केही मन्त्रालयबाट भने विवरण प्राप्त हुन बाँकी नै छ ।'
विवरण संकलन भइनसकेकाले संख्या यकिन हुन सकेको छैन ।
अवकाश, राजीनामा, निलम्बन, कर्मचारीको मृत्यु, नयाँ पद सिर्जना तथा बढुवाका कारण पदहरू रिक्त हुने गर्छन् ।
निजामती सेवा ऐन, २०४९ को दफा ७ अनुसार राजपत्रांकित तृतीय श्रेणी (अधिकृत)मा ७० प्रतिशत पदपूर्ति खुला प्रतिस्पर्धाबाट हुने उल्लेख छ ।
बाँकी ३० प्रतिशत जेष्ठता र कार्यसम्पादन मूल्यांकनका आधारमा बढुवाबाट पदपूर्ति हुने गर्छ ।
राजपत्रांकित द्वितीय श्रेणी (उपसचिव) र राजपत्रांकित प्रथम श्रेणी सहसचिवमा १० प्रतिशत पदपूर्ति खुला प्रतिस्पर्धाबाट हुने व्यवस्था छ ।
हेर्नुहोस्, ऐनको व्यवस्था:
असोज र कात्तिकको अन्तिम बुधवार विज्ञापन
मन्त्रालयले रिक्त दरबन्दीको विवरण पठाइसकेपछि लोक सेवा आयोगले विज्ञापन प्रकाशन गर्नेछ ।
असोज र कात्तिक महिनाको अन्तिम बुधवार विभिन्न राजपत्रांकित पदहरूका लागि विज्ञापन प्रकाशन गर्ने कार्यतालिका लोकसेवा आयोगले यसअघि नै सार्वजनिक गरिसकेको छ ।
अधिकृतका लागि कात्तिकको अन्तिम बुधवार विज्ञापन प्रकाशित गर्ने लोकसेवाको कार्यतालिकामा उल्लेख छ ।
हेर्नुहोस्, कार्यतालिका :
अधिकृतभन्दा तलका राजपत्र अनंकित पदहरूका लागि भने मंसिरदेखि चैतभित्रमा विज्ञापन प्रकाशन गर्ने लोक सेवाको वार्षिक कार्यतालिकामा उल्लेख छ ।