
काठमाडौँ–बैंकिङ प्रणालीमाथि नै प्रश्न उब्जने गरी भदौ १४ मा काठमाडौँमा एटिएमको स्विच नै ‘ह्याक’ गरेर करोडौँ रकम निकालिएको विषयमा अनुसन्धान गर्न जटिलता देखिएको छ ।
एटिएम बुथमा चिनियाँ नागरिकको गतिविधि शङ्कास्पद लागेपछि सुरक्षा गार्डले दिएको सूचनाका आधारमा प्रहरीले अधिकांश ह्याकरलाई पक्राउ गरी ठूलो रकम फिर्ता ल्याउन सफल भए पनि बैंकिङ प्रणालीको सुरक्षामा चुनौती भने यथावत् हो ।
प्रहरीले विभिन्न नाकामा राखिएको र एटिएम बुथमा रहेको सिसी टिभीको श्रव्यदृश्यलाई अनुसन्धानमा प्रयोग गरिरहेको छ ।
यसअघि पिनकोड चोरेर व्यक्तिको रकम निकालिएका घटना थिए । यो पटक स्विच नै ह्याक गरेर बैंकको पैसा निकालिएकाले पनि प्रहरीलाई अनुसन्धानमा थप चुनौती भएको हो । महानगरीय प्रहरी परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले ह्याकरले व्यक्तिको पैसाभन्दा बैंकको पैसा निकाल्नुले पनि उनीहरुको योजना धेरै रकम निकाल्नु रहेको भन्दै फरक प्रकृतिको घटना भएकाले अनुसन्धानको दायरा फराकिलो पारिएको बताए ।
दुई जना फरार हुनु र अर्काेतर्फ भाषा नबुझ्ने समस्याले घटनाको अनुसन्धान जटिल बन्दै गएको छ । अङ्ग्रेजी र नेपाली नजान्ने अभियुक्त छन् भने चिनियाँ भाषा नजानेको प्रहरी छ । “भाषा समस्याले अनुसन्धानमा केही जटिलता भएको छ, समस्याका बीचबाट पनि हामीले सूक्ष्म अनुसन्धान गरिरहेका छौँ”, महानगरीय प्रहरी परिसर काठमाडौँका प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटीले भने । प्रहरीले दोभाषे राखेर घटनाको अनुसन्धान गरिरहेको छ । जसका कारण अनुसन्धानका विषय चुहिनसक्ने समस्या पनि प्रहरीमाथि छ ।
यसैबीच प्रहरीले घटनाको अनुसन्धानका लागि राजधानीको विभिन्न सम्भावित क्षेत्रका र एटिएम बुथको सिसी क्यामराको श्रव्यदृश्य मगाएको छ । फरार रहेका दुई जनाको पहिचानका लागि प्रहरीले सबै प्रहरी वृत्तलाई निगरानी गर्न निर्देशन दिएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोलगायत अन्य कार्यालयले पनि अनुसन्धानलाई सहयोग गरिरहेको छ ।
ह्याकरले नबिल बैंकको बुथ प्रयोग गरेर प्रभुसँगै एनआइसी एशिया, जनता, इन्भेष्टमेन्ट, कुमारी, ग्लोबललगायत सात बैंकको रकम निकालेको प्रहरीले जनाएको छ ।
प्रहरीले मगायो विज्ञ टोली
प्रहरीले घटनाको अनुसन्धानका लागि सूचना प्रविधिसम्बन्धी विज्ञ टोली मगाएको छ । सबै मनिटर गर्ने नेपाल राष्ट्र बैंक भएकाले विज्ञ टोलीका लागि बैंकलाई पत्राचार गरिसकेको प्रहरीले जनाएको छ ।
“आर्थिक सम्बन्धीको ठूलो मुद्दा भएकाले मुख्य निरीक्षण राष्ट्र बैंकले नै गर्र्ने हो, त्यसैले हामीले विज्ञ टोली उपलब्ध गराइदिन अनुरोध गरेका छौैँ”, प्रनाउ बोगटीले भने । प्रहरी प्रधान कार्यालयका आइटी विज्ञको टोलीसमेत घटनाको अनुसन्धानमा सक्रिय छ ।
राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले घटनाको छानबिन गरिरहेको बताउँदै त्यसको रिपोर्टपछि सबै कुरा खुल्ने बताए ।
सिमकार्ड आफ्नो मात्रै
अब अरूका नाममा भएको सिमकार्ड प्रयोग गर्न नमिल्ने भएको छ । जसले प्रयोग गरिरहेको हो, उसैका नाममा सिमकार्ड दर्ता गर्न बाध्यकारी व्यवस्था गर्ने नेपाल दूरसञ्चार प्राधिकरणको तयारी छ ।
प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले जारी भएका सबै सिम सम्बन्धित प्रयोगकर्ताकै नाममा आगामी तीन महिनाभित्र दर्ता गरिसक्ने योजना बनाइएको बताए । ‘केही दिनमै हामी मोबाइल सेवा प्रदायकमार्फत सबै प्रयोगकर्तालाई अरूका नामको सिमकार्ड प्रयोग गरिरहेको भए आफ्ना नाममा दर्ता गर्न म्यासेजमार्फत खबर गर्छौं,’ उनले भने ।
प्राधिकरणका अध्यक्ष खनालले तोकिएको समयमा पनि आफ्ना नाममा सिम दर्ता नगर्नेलाई के गर्ने भन्ने निर्णय भने भइनसकेको बताए । ‘यसबारे पछि निर्णय गर्छौं,’ उनले भने ।
प्राधिकरणको तथ्यांकअनुसार नेपाल टेलिकमबाट असारसम्ममा २ करोड २ लाख सिमकार्ड जारी भएका छन् भने एनसेलले १ करोड ६६ लाख सिमकार्ड जारी गरेको छ । यीमध्ये करिब ७० प्रतिशत सिमकार्ड सम्बन्धित प्रयोगकर्ताकै नाममा रहेको प्राधिकरणको अनुमान छ । कान्तिपुर दैनिकमा खबर छ ।
सामाजिक सुरक्षामा नआउने निजी विद्यालयलाई कारवाही गरिने
निजी लगानीका विद्यालयले ‘योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम’ मा सहभागी हुन आनाकानी जारी राखेमा सरकारले कानूनी कारवाही गर्ने जनाउ दिएको छ ।
निजी (संस्थागत) विद्यालयमा कार्यरत शिक्षक कर्मचारीले सरकारको उक्त राष्ट्रिय महत्वको योजनामा हालसम्म विद्यालयहरु सूचीकृत नभएकाले आउँदो असोजपछि आफूहरु आन्दोलनमा उत्रने चेतावनी दिएपछि सरकारले कडा नीति लिने जनाएको हो ।
योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४ बमोजिम ‘सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि, २०७५’ ले व्यवस्था गरेअनुसार सञ्चालित सो कार्यक्रममा मङ्गलबारसम्म चार हजार ६०० प्रतिष्ठान र ४० हजार श्रमिक सूचीकृत भइसकेका छन् । यस कार्यक्रमअन्तर्गत रोजगारदाताले २० प्रतिशत रकम सामाजिक सुरक्षा कोषमा जम्मा गर्नुपर्छ ।
नेपालमा लगानी बढाउन परराष्ट्रमन्त्रीको आग्रह
चौथो हिन्द महासागर सम्मेलनमा सहभागी हुने सिलसिलामा मालदिभ्सको राजधानी मालेमा रहेका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बुधबार बिहान सिङ्गापुरका विदेशमन्त्री भिभिन बालकृष्णन्लाई भेटेर नेपालमा लगानी बढाउन आग्रह गरेका छन् ।
भेटवार्तामा नेपाल–सिङ्गापुर सम्बन्धका साथै पारस्परिक हित र चासोका विविध विषयमा विचारविमर्श भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
मेलम्ची आयोजना सक्दो छिटो सक्न संसदीय समितिको निर्देशन
प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले मेलम्ची खानेपानी आयोजनाको काम सक्दो छिटो सम्पन्न गर्न निर्देशन दिएको छ । आयोजनाका विषयमा छलफल गर्न बुधबार आयोजित बैठकमा सभापति भरतकुमार शाहले मेलम्ची नआउने समयसम्मका लागि वाग्मतीको पानी प्रशोधन गरी वितरण गर्न खानेपानी मन्त्रालय र मेलम्ची खानेपानी विकास समितिलाई निर्देशन दिए । गत पुसमै इटालियन निर्माण व्यवसायी कम्पनी सिएमसीले ठेक्का तोडी काम छोडेर हिँडेपछि आयोजना अझै अलपत्र छ ।
काँग्रेसको माग
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले भ्रष्टाचारका विभिन्न काण्ड र कानून उल्लङ्घन गरी गरिएका निर्णयको छानबिन गरी दोषीमाथि कारवाहीको प्रक्रिया अगाडि बढाउन संवैधानिक छानबिन निकायहरुको ध्यानाकर्षण गराएको छ ।
काँग्रेस केन्द्रीय कार्यसमितिको मङ्गलबारको बैठकद्वारा पारित सामसामयिक प्रस्तावका बारेमा जानकारी बुधबार आयोजित पत्रकार सम्मेलनमा सहमहामन्त्री डा प्रकाशशरण महतले सो जानकारी दिए ।
काँग्रेसले नेपाल वायु सेवा निगमको वाइड बडी तथा न्यारो बडी हवाईजहाज काण्ड, सुनकाण्ड, चिनी काण्ड, बालुवाटार जग्गा काण्ड, विराटनगर जुटमिल काण्ड, मेलम्ची काण्ड, एनसेल कर प्रकरण, बिना प्रतिस्पर्धा निर्णय गरिएको बूढीगण्डकी आयोजनामा भएको अनियमितताको छानबिन गरी कारवाही प्रक्रिया अगाडि बढाउन माग गरेको हो ।
नेपाली सेना जनतासँग एकाकार
कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले सरकारले दिएको जिम्मेवारी तोकिएको समयभित्रै पूरा गरेको भन्दै नेपाली सेनाको प्रशंसा गरेका छन् ।
बारा तथा पर्साका केही स्थानमा गत चैत १७ गते आएको ‘टोर्नाडो’बाट प्रभावित जनतालाई आवास हस्तान्तरण गर्न बुधबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाली सेनाले राष्ट्रिय अखण्डता, सार्वभौमसत्ताको रक्षा गर्दै विपद्का समयमा जनताले भरोसा गर्न सक्ने संस्थाका रुपमा आफूलाई उभ्याउन सफल भएको बताए ।
कार्यक्रममा प्रदेश २ का मुख्यमन्त्री राउतले जनता आवास पुनःनिर्माण कार्यक्रमअन्तर्गत सेनाले निर्माण गरेको आवास हस्तान्तरण प्रमाणपत्र बारा र पर्साका प्रभावित स्थानीय तहका प्रमुखलाई प्रदान गरे । विविध चुनौतीका बाबजुद सेनाले चार महीनाका अवधिमा ८६९ आवास निर्माण सन्पन्न गरेको हो ।
अनेरास्ववियूका संयोजक महर घाइते
प्रहरी र विद्यार्थीबीच झडप हुँदा आठ विद्यार्थी नेता घाइते भएका छन् । पक्राउ परेका विद्यार्थीलाई भेट्न जाने क्रममा प्रदर्शनीमार्गस्थित नेपाल पुलिस क्लब अगाडि साँझ ६ बजे झडप भएको थियो ।
झडपमा अनेरास्ववियुका संयोजक महर, नेता सुदेश पराजुली, समिक वडाल, सागर भट्ट, राजकुमार महतारासहित आठ जना घाइते भएको अनेरास्ववियूका सहसंयोजक रञ्जीत तामाङले जानकारी दिए । महानगरीय प्रहरी परिसरका प्रवक्ता एवम् प्रहरी नायक उपरीक्षक होविन्द्र बोगटीले पक्राउ परेका विद्यार्थी नेतालाई भेट्न जाँदा झडप हुँदा उनीहरु घाइते भएको बताए ।
“चिकित्सा शिक्षा अध्ययन संस्थानका आन्दोलनरत विद्यार्थीलाई पक्राउ गरेर पुलिस क्लबमा राखिएको थियो । उहाँहरु ती विद्यार्थी नेतालाई भेट्न आउनु भएको थियो”, उनले भने, “सोही क्रममा विद्यार्थी र प्रहरीबीच झपड हुँदा उहाँलाई चोट लागेको हो ।” सहसंयोजक तामाङका अनुसार सामान्य घाइते भएका सबैको प्रदर्शनीमार्गस्थित काठमाडौँ मोडेल अस्पतालमा उपचारपश्चात् घर फर्किएका छन् । चिकित्सा शिक्षाको सुधारको माग राख्दै विद्यार्थीले चिकित्सा अध्ययन संस्थानमा ताला लगाएका छन् ।
स्थापनाको ६० वर्षपछि भिडियो एक्स–रे सेवा
नेपाल परिवार नियोजन सङ्घले पुल्चोकस्थित केन्द्रीय कार्यालयमा रहेको क्लिनिकबाट भिडियो एक्स–रे (अल्ट्रासाउन्ड) सेवा शुरुआत गरेको छ । परिवार नियोजन, सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य सेवामा नेपालको सबैभन्दा पुरानो गैरसरकारी संस्थाका रुपमा कार्यरत सो सङ्घले आफ्नो स्थापनाको ६१ वर्षपछि पहिलोपटक बुधबारदेखि सो सेवा शुरुआत गरेको हो ।
सुनको मूल्य तोलाको हजार बढ्यो
भदौ दोस्रो साता केही ओरालो लागेको सुनको मूल्य पुनः उकालो लाग्न थालेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ(्घका अनुसार बुधबार छापावाला र तेजाबी सुनको मूल्य प्रतितोला रु एक हजारले वृद्धि भएको छ ।
नेपाली बजारमा छापावाला सुनको मूल्य बुधबार रु ७३ हजार ५०० कायम भएको महासङ्घले जनाएको छ । मङ्गलबार पनि सुनको मूल्य प्रतितोला रु ५०० ले वृद्धि भई तोलाको रु ७२ हजार ५०० मा कारोवार भएको थियो ।
त्यस्तै तेजाबी सुनको मूल्य प्रतितोला रु ७३ हजार २०० निर्धारण गरिएको महासङ्घले जनाएको छ । मङ्गलबार तेजाबी सुन प्रतितोला रु ७२ हजार २०० मा कारोवार भएको थियो ।
सुनको मूल्य वृद्धिसँगै चाँदीको मूल्य पनि उच्च वृद्धि भएको छ । स्थानीय बजारमा बुधबार चाँदीको मूल्य प्रतितोला रु ३५ ले वृद्धि भई ९४० पुगेको छ ।
नेप्से परिसूचक उकालो यात्रामा
साताको शुरुआती दुई दिन लगातार दोहोरो अङ्कले गिरावट आएर लगानीकर्तालाई निराश बनाएको धितोपत्र बजारले बुधबार लगानीर्तामा केही आश जगाएको छ ।
धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक मङ्गलबार र बुधबार भने लगानीकर्तामा उत्साह भर्ने ढङ्गबाट उकालो लागेको छ । मङ्गलबार झण्डै २० अङ्कले बढेको नेप्से बुधबार ३.८७ अङ्कले वृद्धि भई एक हजार १९४.७७ पुगेको छ ।
त्यस्तै सेन्सेटिभ परिसूचक पनि ०.६३ अङ्कले वृद्धि भएको छ । स्टकका अनुसार बुधबार कूल १६८ कम्पनीका १४ लाख २२ हजार ११२ कित्ता शेयर रु ४३ करोड ६४ लाख ४४ हजार ६८८ मा खरीदबिक्री भएको छ ।
कारोवार भएका ११ उपमूहमध्ये तीन उपसमूहको मात्र शेयर ओरालो लागेको छ । फाइनान्स ३.६, उत्पादन १९.४५ र अन्य २.१४ अङ्कले घटेको छ । यस्तै बैंकिङ ६.१, होटेल ०.३२, विकास बैंक ०.२, जलविद्युत् ०.४३, निर्जीवन बीमा २५.२, माइक्रोफाइनान्स २.८१, जीवन बीमा ८.३९ र सामूहिक लगानी कोषको शेयर ०.०९ अङ्कले वृद्धि भएको छ ।