०२ असार २०८३, मंगलबार

चितुवाको आक्रमणबाट ज्यान गुमाएकाको परिवारलाई दश लाख

चितुवाको आक्रमणबाट ज्यान गुमाएकाको परिवारलाई दश लाख

दमौली– गत जेठ २४ गते चितुवाको आक्रमणमा परी ज्यान गुमाएकी तनहुँको भानु नगरपालिका–२ भकुण्डथोक निवासी ९ वर्षीया पुष्पा अधिकारीको परिवारलाई रु दश लाख प्रदान गरिएको छ । वन तथा वातावरण मन्त्रालयमार्फत् प्राप्त उक्त रकमको चेक आज पीडितका आमा दुर्गा अधिकारीलाई प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डित र भानु नगरपालिकाका उपप्रमुख आशा थापाले संयुक्त रुपमा प्रदान गरे ।

पण्डितले मानिसको जीवन पैसासँग तुलना गर्न नमिल्ने भए पनि राहत रकमले पीडितपरिवारलाई केही सहयोग हुने बताए।  वन तथा वातावरण मन्त्रालयबाट स्वीकृत वन्यजन्तुको क्षतिको राहत निर्देशिका २०६९ (संशोधित २०७५) बमोजिम वन्यजन्तुको आक्रमणमा परि मानिसको मृत्यु भएमा अधिकतम रु दश लाखसम्म उपलब्ध गराउने नीति बमोजिम पीडितपरिवारलाई राहत रकम प्रदान गरिएको डिभिजन वन कार्यालय तनहुँका प्रमुख केदार बरालले जानकारी दिए।

कार्यालयले गत जेठ २६ गते तत्कालका लागि रु ५० हजार प्रदान गरेको थियो । 

चितुवाको आक्रमणबाट यसअघि भानु नगरपालिकामा दुई बालक र दुई बालिकाको मृत्यु भइसकेको छ ।

यसैबीच डिभिजन वन कार्यालयले चितुवाको आक्रमणबाट बाख्राको मृत्यु भएकोमा सम्बन्धित बाख्राधनीलाई समेत राहत रकम प्रदान गरेको छ । भानु नगरपालिका–२ की अनिता नेपाली र राममाया गुरुङलाई रु दश÷दश हजार प्रदान गरिएको हो ।

salt training

कमेन्ट गर्नुहोस्