काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बीपी कोइरालाको १०६ औं जन्मजयन्तीको अवसर पारेर जागरण अभियानको दोस्रो चरण शुरूवात गर्ने भएको छ ।
भदौ २४ गतेबाट शुरू हुने जागरण अभियानको दोस्रो चरणमा ३ सय ३० वटै प्रदेशसभा निर्वाचन क्षेत्रमा केन्द्रित हुने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।
बिहीवार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता शर्माले जागरण अभियान कांग्रेसको ‘कम बोल्ने बढी सुन्ने’ अभियानका रूपमा रहने बताए ।
अभियानका क्रममा विशेष सामाजिक संवाद, सामाजिक विसंगतिविरुद्ध जागरण, युवा केन्द्रित विशेष संवाद, वडा स्तरीय अन्तर्क्रिया, अग्रज, शहीद र द्वन्द्व पीडितको आँगनमा पुग्ने कार्यक्रम, स्थानीय तहको २ वर्षे समीक्षाजस्ता कार्यक्रम गरिने शर्माले बताए ।
जागरण अभियानको अघिल्लो चरणमा ३१ हजार बढीले अन्य पार्टी छाडेर कांग्रेस प्रवेश गरेको स्मरण गर्दै शर्माले भने, ‘यसपटक त्योभन्दा ठूलो संख्यामा पार्टी प्रवेश हुने हामीले अनुमान गरेका छौं । अन्य पार्टीबाट आएका साथीहरूलाई विशेष प्रशिक्षणको व्यवस्था गरिने छ ।’
जागरणको दोस्रो अभियानमा किलोग्राममा तौलेर नेतालाई माला लगाइदिने संस्कार पूर्णरूपमा निर्मुल गरिने शर्माले दाबी गरे ।
कार्यक्रममा बोल्दै उपसभापति विजयकुमार गच्छदारले पार्टी समायोजनका कामहरू अघि बढिरहेको जानकारी दिए । ‘सहमति अनुसार २ सय महासमिति सदस्य र १ सय ५० पर्यवेक्षक तत्कालीन फोरम लोकतान्त्रिकले पाएको छ,’ उनले भने, ‘म पनि उपसभापतिमा मनोनयन भएँ । सहमति कार्यान्वयन गर्ने प्रक्रियामा छ ।’
यसबारे थप छलफल गर्न बिहीवार नै सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बैठक आयोजना गरिएको गच्छदारले जानकारी दिए ।