०८ असार २०८३, सोमबार

बेलायतमा निर्वाचन गराउने बारे संसदमा सोमबार फेरि मतदानको तयारी

भदौ १९, २०७६
बेलायतमा निर्वाचन गराउने बारे संसदमा सोमबार फेरि मतदानको तयारी

लण्डन-बेलायतमा समय अघि नै निर्वाचन गर्ने प्रधानमन्त्री बोरिस जोनसोनको प्रस्तावमा आउँदो सोमबार पनि संसदमा मतदान हुनेभएको छ । 

सरकारी अधिकारीहरूले बिहीबार दिएको जानकारी अनुसार राजनीतिक गतिरोध अन्त्यका लागि प्रस्ताव गरिएको निर्वाचनका बारेमा दोस्रो पटक मतदान गराउन लागिएको हो ।

समयअघि नै निर्वाचन गराउने प्रस्तावमाथि संसदमा यसअघि पनि मतदान गराइएको थियो । पहिलो पटकको निर्वाचनमा प्रधानमन्त्री जोनसनको प्रस्ताव अस्वीकृत भएको थियो ।

वरिष्ठ मन्त्री याकोब रिस मोग्गाले अग्रीम निर्वाचनका लागि आफूले संसदमा प्रस्ताव पेस गर्ने तयारी गरको सांसदहरूलाई जानकारी दिनुभयो । 

बेलायती संसद् हाउस अफ कमन्समा दुई दिनभित्र भएका तीनवटा मतदानको नतिजा प्रधानमन्त्री जोन्सनको विपक्षमा आएका छन् ।

प्रधानमन्त्री जोन्सनले बुधबार आगामी अक्टोबर १५ मा आमनिर्वाचन गर्नेगरी प्रस्ताव गर्नुभएको थियो तर संसद््ले उक्त प्रस्ताव अस्वीकृत गरेको थियो । 

त्यस्तै युरोपेली संघबाट बेलायतको बहिर्गमन (ब्रेक्जिट) बिना सम्झौता गर्ने प्रधानमन्त्री जोन्सनको अर्को प्रस्ताव पनि संसद्ले अस्वीकृत गरेको थियो ।

संसद््मा चुनावी नतिजा आफ्नो पक्षमा नआएका कारण हतास देखिएका प्रधानमन्त्री जोन्सनले विपक्षी लेबर पार्टीका नेता जेरेमी कोर्बिन जनताको बीचमा जान डराएको आरोप लगाउनुभएको छ । 

ब्रेक्जिटको गतिरोध अन्त्य गर्ने दृढ विश्वासका साथ छ हप्ताअघि प्रधानमन्त्री बन्नुभएका प्रधानमन्त्री जोन्सन अहिले संसद्मा सहमति नजुट्दा संकटको घेरामा पर्नुभएको छ । 

प्रधानमन्त्री जोन्सनले आगामी अक्टोबर ३१ को मितिभित्रै युरोपेली संघ छाड्नै पर्ने पटकपटक बताउनुभएको छ । उहाँ सम्झौता सहित वा बिना सम्झौता बहिर्गमनको पक्षमा हुनुहुन्छ । तर जोन्सनकै कन्जरभेटिभ पार्टीका समेत धेरै सांसदहरु प्रधानमन्त्री जोन्सनको कठोर निर्णयको पक्षमा छैनन् । सन् २०१६ मा भएको जनमतसंग्रहमा ब्रेक्जिटको पक्षमा झिनो बहुमत प्राप्त भएको थियो ।

चुनावको घोषणाका लागि ६५० सदस्यीय हाउस अफ कमन्समा दुई तिहाई मत आवश्यक पर्दछ । अर्थात् ४३४ मत आवश्यक हुन्छ, तर संसद्मा भएको मतदानमा चुनावको पक्षमा केबल २९८ मत परेको थियो भने ५६ जनाले विपक्षमा मतदान गरेका थिए । बाँकी सांसदहरु अनुपस्थित थिए । 

salt training

कमेन्ट गर्नुहोस्