काठमाडौँ, १७ चैत - विश्व टे«ड युनियन महासङ्घमा आबद्ध नेपालका क्रियाशील आठ श्रमिक सङ्गठनले प्यालेस्टाइन जनतामाथि भइरहेको इजरायली हस्तक्षेप रोक्न नेपालको लैनचौरस्थित इजरायली राजदूतावासमा ज्ञापनपत्र बुझाउन जाँदा प्रहरीले हस्तक्षेप गरेको छ ।
आज दिउँसो प्यालेस्टाइनी जनताले आफ्नो मातृभूमिको रक्षार्थ सञ्चालन गरेको सङ्घर्षप्रति ऐक्यबद्धता जनाउँदै इजरायली सरकारबाट भइरहेको दमन र हस्तक्षेपको अन्त्य गर्न माग गर्दै ज्ञापनपत्र बुझाउन जाँदा प्रहरीले हस्तक्षेप गरेको महासङ्घका प्रेसिडेन्सियल काउन्सील सदस्य प्रेमकुमार खनालले जानकारी गराउनुभयो ।
उहाँले नेपाल जस्तो प्रजातान्त्रिक मुलुकमा कूटनीतिक नियोगबाट यस किसिमको कार्य हुनु अप्रजातान्त्रिक क्रियाकलाप भएको बताउनुभयो ।
ज्ञापनपत्र बुझाउन नदिएपछि उनीहरुले बाहिर कोणसभा गरेका थिए । पेसागत महासङ्घ नेपाल, नेपाल ट्रेड युनियन फेडेरेसन, नेपाल प्रगतिशील ट्रेड युनियन महासङ्घ, नेपाल राष्ट्रिय कर्मचारी महासङ्घ, राष्ट्रिय प्रजातान्त्रिक ट्रेड युनियन महासङ्घ नेपाल, राष्ट्रिय प्रजातान्त्रिक ट्रेड युनियन महासङ्घले ज्ञापनपत्र बुझाउन गएका थिए ।
उनीहरुले इजरायली सरकारले अमानवीय नाकाबन्दी लगाउनुका साथै प्यालेस्टाइनीको बासस्थान, बालबालिकाको हत्या तथा सयौँ श्रमिक वर्गलाई बन्दी बनाइरहेकाप्रति आपत्ति जनाएका छन् । रासस