१० साउन २०८३, आइतबार

लमजुङमा आकांक्षीको ओइरो, यी हुन् मेयरका सम्भावित उम्मेदवार

कात्तिक २०, २०७४
लमजुङमा आकांक्षीको ओइरो, यी हुन् मेयरका सम्भावित उम्मेदवार


लमजुङ, १८ चैत — आगामी २०७४ वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लमजुङ जिल्लामा चुनावी माहोल बढेको छ । जिल्लामा चार गाउँपालिका र चार नगरपालिका कायम गरिएको छ ।

स्थानीय निर्वाचनमा लमजुङमा कांग्रेस र एमालेबीच मुख्य प्रतिस्पर्धा हुने आँकलन गरिएको छ । कुनै समय कांग्रेसको बाहुल्य रहेको यस जिल्लामा अहिले एमाले पनि राम्रो अवस्थामा छ । माओवादीसहितका दलहरू पनि प्रतिस्पर्धामा छन् । मेयर तथा उपमेयरका प्रत्यासीहरूले टिकटका लागि कोशिश गरिरहेका छन् । उनीहरूको चर्चा पनि शुरु भएको छ ।

बेंसीसहर नगरपालिका

लमजुङको बेंसीसहरमा कांग्रेसको तर्फबाट डेढ दर्जन नेता आकांक्षी देखिएका छन् । एमालेका उम्मेदवारको चर्चा पनि शुरु भएको छ तर अरू दलका उम्मेदवारको चर्चा चाहिँ अझै भएको छैन ।

बेंसीसहरमा नेपाली कांग्रेसबाट जिल्ला सभापति भेषबहादुर पौडेल, शंकरकान्त जोशी, वृषकुमार गुरुङ चर्चामा छन् । त्यस्तै यज्ञप्रसाद पौडेल, गणेश न्यौपाने, महेन्द्र पौडेल, कृष्णबहादुर अधिकारी, दीपक बराल, श्रीकान्त घिमिरे, हरि बराल, जीवन श्रेष्ठ, गणेश न्यौपाने, हरिबहादुर थापा, अंगराज घिमिरेको पनि मेयरमा चर्चा गरिन्छ ।
त्यस्तै रश्मी घिमिरे, इन्दिरा तिवारी, धनु पिया लगायतको नाम उपमेयरमा चर्चा गरिन्छ ।

एमालेबाट पनि आकांक्षीहरू देखिन थालेका छन् । एमालेका कृष्णबहादुर केसी, गुमानसिंह अर्याल, धर्माज श्रेष्ठ, कृष्णबहादुर अधिकारी, चिरन्जीवी पौडेल लगायतको नाम चर्चामा छ ।

सुन्दरबजार नगरपालिका

सुन्दरबजारमा कांग्रेसका तर्फबाट कृष्ण कोइराला, भीमबहादुर दुरा, दामोदर अधिकारी, शुभनाथ मिश्र, द्वारिका मिश्र, लक्ष्मीकान्त पौडेल, बद्रीमान श्रेष्ठ, सुरज खनाल लगायतको नाम चर्चामा छ ।
एमालेका तर्फबाट प्रेमबहादुर दुरा, जनक मिश्र, शंकरनाथ श्रेष्ठ, हिमबहादुर गुरुङ, लीलाधर सापकोटा लगायतको नाम चर्चामा छ ।

माओवादी केन्द्रका तर्फबाट कृष्ण सुनारको चर्चा छ । उनी नगरपालिकाका पार्टी संयोजक हुन्, उपमेयरमा माओवादी केन्द्रका शान्ता भुजेल, सन्तोषी गौलीको चर्चा छ ।

मध्य नेपाल नगरपालिका

मध्य नेपाल नगरपालिकामा कांग्रेसका तर्फबाट आनन्दमणि घिमिरे, नवीनचन्द्र घिमिरे, रमेश पाण्डे लगायतको नाम चर्चामा छ । त्यस्तै एमालेका योगेन्द्र शाहको नाम चर्चा गरिन्छ । शाह यहाँका हेभिवेट नेता भएकाले उनले टिकट पाउने अनुमान गरिन्छ । तर अरू नेताहरूले पनि आकांक्षा देखाएका छन् ।

रागिनास नगरपालिका

रागिनास नगरपालिकामा कांग्रेसबाट जनकलाल श्रेष्ठ, तुलसीनारायण श्रेष्ठ, रामकृष्ण कँडेल, डिकेन्द्रराज कँडेल, मद्मराज कँडेल लगायतको नाम चर्चामा छ । त्यस्तै सिंहबहादुर थापा र मातृका खनालको नाम चर्चामा छ ।
माओवादीका भोजराज सिलवालको नाम चर्चामा छ । यो नगरपालिकामा एमाले र माओवादीको तालमेल हुने विश्लेषण समेत गर्न थालिएको छ ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार लमजुङको चुनावी माहोल राम्रो बनिरहेको छ । जिल्ला निर्वाचन अधिकृत तुलसीप्रसाद तिमिल्सिनाले संविधानसभाको निर्वाचनमा भन्दा पनि धेरै अहिले मानिसहरूमा उत्साह छाएको बताए ।

लामो समयपछि जनप्रतिनिधि छान्न पाउने अवसर आउसँगै सर्वसाधारणहरू उत्साहित भएको उनले बताए । उनका अनुसार जिल्लामा एक लाख १० हजार ८ सय ५६ अप्रशोधित मतदाता संख्या कायम गरिएको छ ।
जिल्लामा एक सय २३ वटा मतदानस्थल कायम गरिएको छ । अघिल्लो संविधानसभाको निर्वाचनमा कांग्रेस र एमालेले त्यहाँ एक–एक सिट जितेका थिए ।

अहिले पनि कांग्रेस एमालेकै बीचमा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । तर मतदाता र उम्मेदवारहरू नयाँ पुस्ताका हुनसक्ने भएकाले चुनावी नतिजा कस्तो आउँछ भन्न नसकिने विश्लेषण समेत गरिएको छ ।
जिल्लामा चुनाव भाँड्ने किसिमका गतिविधिहरू भएका छैनन् । यहाँ चुनावी माहोल बढेको छ । दलहरूले पनि आन्तरिक रूपमा पार्टीका गतिविधिहरूलाई अघि बढाइरहेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्