१८ असार २०८३, बिहीबार

छाडा पशुका कारण सवारी दुर्घटना बढ्यो

छाडा पशुका कारण सवारी दुर्घटना बढ्यो

घोडाघोडी– पछिल्लो समय सबैतिर टाउको दुखाइ बनेको छाडा पशु चौपायाका कारण निकै समस्या देखिएको छ । छाडा चौपायाले अन्नबाली सखाप पार्न थालेपछि किसान निकै चिन्तित छन् अन्नबाली जोगाउन रातभर जाग्राम बस्नुपर्ने बाध्यता किसानको छ ।  

छाडा चौपाया दिनभर मुख्य राजमार्गतिर बस्ने गरेको भए पनि साँझ परेपछि खेततिर पस्ने गरेका कारण आफूहरू रातभर चौपाया धपाउन लाग्ने गरेको घोडाघोडी नगरपालिका–१० का हरि चौधरी बताउँछन्।  हुलका हुल आउने गाई, साँढे र बाच्छाबाच्छीले किसानले लगाएको धान, तरकारीलगायतका बाली सखाप पार्ने गरेको चौधरीको भनाइ छ ।
 
सडकमा छाडिएका पशु चौपायाका कारण किसानले समस्या भोग्नुपरेको गौरीगङ्गा नगरपालिका–८ का सुनिता थापाको गुनासो छ । 

किसान मात्र होइन, छाडा पशु चौपायाका कारण सडक छेउमा फलफूल र तरकारी पसल सञ्चालन गर्दै आएका व्यापारीले समेत  सास्ती झेल्दै आएका छन् ।

कैलालीको घोडाघोडी नगरपालिका–१ का फलफूल व्यापारी रमेश ऐर छाडा पशु चौपायाले तरकारी, फलफूल खाइदिने हुनाले निकै दुःख पाएको बताउँछन्। छाडा चौपायाका कारण व्यापारमा निकै धक्का पुगेको ऐरको भनाइ छ ।

फलफूल व्यापारी मात्र नभएर छाडा चौपायाका कारण होटल व्यवसायीसमेत समस्यामा छन् । कहीँ केही खान नपाएका छाडा चौपायाले होटलमा बनाएर राखिएका चिजसमेत खाइदिने गरेको होटल व्यवसायी तेजु खड्काको भनाइ छ । 

 छाडा चौपायाका कारण सडक दुर्घटनाको जोखिम धेरै बढेको छ । प्रायः हुने सवारी दुर्घटनामा सडकमा रहेका गाईगोरु पनि मर्ने गरेका छन् । रातिको समयमा छाडा चौपायासँग ठोक्किएर सवारी दुर्घटना हुने गरेको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका सूचना अधिकारी प्रहरी निरीक्षक टेकबहादुर जोराले बताए।

जोराका अनुसार राति सडकमा बसेका गाईगोरु नदेखिने हुँदा सवारी दुर्घटना हुने गरेको हो । “दिउँसोमा त्यति धेरै दुर्घटना हुँदैनन्, रातिको समयमा छाडा चौपाया सडकमा बस्ने हुँदा दुर्घटना हुने गरेका छन्”, जोराले भने।

छाडा चौपाया सबैको टाउको दुखाइको विषय भएको हुनाले सबै जना मिलेर यो समस्याको समाधान गर्न लाग्नुपर्ने कैलालीको घोडाघोडी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खगेन्द्रबहादुर सिंह बताउँछन् । नगरपालिकाले पहिले पनि छाडा पशु चौपाया नियन्त्रणका लागि पहल गरेको भए पनि सफल नभएको हुनाले सबै लागे समस्याको समाधान गर्न सकिने सिंहको भनाइ छ ।

salt training

कमेन्ट गर्नुहोस्