
सुर्खेत – डेंगु संक्रमण बढ्न थालेपछि सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले यसविरुद्व अभियान सञ्चालन गरेको छ ।
वडा कार्यालयले शनिवार टोल–बस्तीसम्म पुगेर डेंगु रोगविरुद्व सचेतना फैलाउनाका साथै लामखुट्टेका लार्भासमेत नष्ट गरेका हुन् ।
बसपार्क क्षेत्रमा ‘एडिज’ जातको लामखुट्टेका लार्भा देखा परेकाले प्रदेश स्वास्थ्य निर्देशनालयले नष्ट गर्न नगरपालिकालाई निर्देशन दिएको थियो । निर्देशनालयले नगरभित्रका ग्यारेज सेन्टर, नाली र डिब्बा, कुलर, बोतल पाइने स्थानहरुमा लार्भाको खोजी गरी नष्ट गर्न जनप्रतिनिधिलाई आग्रह गरेको थियो ।
वडा नम्बर ६ का अध्यक्ष मोती कँडेलले बसपार्क क्षेत्रमा गाडीका पुराना टायर, पानीका बोतल जथाभावी फ्याकिँदा ‘एडिज’ जातको लामखुट्टे देखिएको बताए । उनले शनिबार टोल–टोलमा पुगेर जनचेतना फैलाउनाका साथै लामखुट्टेका लार्भा नष्ट गरिएको जानकारी दिए । सफा पानी जमेको ठाउँ, गाडीका टायर, डिब्बा, बोतलभित्र एडिज नामको लामखुट्टे बस्ने गर्दछ ।
सुर्खेतमा हालसम्म डेंगुका ६ बिरामी फेला परेका छन् । कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयले डेंगु संक्रमित ३ जना उपचारपश्चात् घर फर्केका तथा बाँकी ३ उपचारकै क्रममा रहेको जनाएको छ ।
विक्रम संवत् २०७४ मा वीरेन्द्रनगर, दशरथपुर, अवलचिङ, गुमी र कल्याणमा गरी २१ बिरामी फेला परेका थिए । ५ वर्षअघि डेंगुबाट सुर्खेतमा १ जनाको मृत्यु भएको थियो ।