
काठमाडौं– बाँकेमा आफ्नो पार्टीका सभापति किरण कोइरालामाथि भएको आक्रमणमा संलग्नलाई कारवाहीको माग गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विरोध जनाएपछि प्रतिनिधि सभाको बैठक सोमवार दिउँसो सम्मका लागि स्थगित भएको छ ।
आइतवार बसेको प्रतिनिधि सभाको दोस्रो बैठक शुरू हुनासाथ कांग्रेस सांसदहरूले उभिएर विरोध जनाएका थिए । त्यसअघि आइतवार बसेको पहिलो बैठकमा गृहमन्त्री रामबहादुर थापा बादलले बाँकेमा कांग्रेसको कार्यक्रममाथि विरोध गर्ने तीन जनालाई प्रहरीले नियन्त्रणमा लिइसकेको र दोषीमाथि कारवाही गर्ने प्रतिबद्धता जनाएका थिए ।
गृहमन्त्रीको जवाफ चित्तबुझ्दो नभएको भन्दै कांग्रेस सांसदहरूले किटानी जाहेरी दिएका नेकपा कार्यकर्तालाई पक्राउ गरेर दोषीमाथि कारवाही नथाल्दासम्म संसद चल्न नदिने बताएका थिए । त्यसपछि सभामुख कृष्णबहादुर महराले १० मिनेटका लागि संसदको बैठक स्थगित गरेका थिए ।
दुई घण्टापछि अपराह्न बसेको बैठकमा पनि कांग्रेस सांसदहरू उभिएर विरोध जनाएपछि सभामुख महराले संसद्को बैठक सोमवार दिउँसो ३ बजे सम्मका लागि स्थगित गरेका छन् ।
कांग्रेसले शुरू गरेको दोस्रो चरणको जनजागरण कार्यक्रमअन्तर्गत २६ गते बाँकेको खजुरामा आयोजित कार्यक्रममा नेकपाका कार्यकर्ताले आक्रमण गर्दा कांग्रेसकी जिल्ला सभापति कोइरालाको हात भाँचिएको छ ।
नेकपा सरकारले सर्वसत्तावाद लागू गर्न खोजेको भन्दै कांग्रेसले बाँके घटनाका दोषीमाथि कारवाही नभएसम्म संसद चल्न नदिने बताएको छ ।