काठमाडौं, १९ चैत –काठमाडौंको सौन्दर्य बढाउन र व्यवस्थित शहरीकरणका लागि काठमाडौं महानगरपालिकाले वृहत कार्ययोजना सार्वजनिक गरेको छ ।

राजधानीमा एक कार्यक्रम आयोजना गरि महानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत ईश्वरराज पौडेलले ३० महत्वकांक्षी योजना सार्वजनिक गरेका हुन् ।
योजना कार्यान्वयनमा अव्वल छवी बनाएका पौडेलले महानगरपालिका प्रमुखको जिम्मेवारी सम्हालेपछि शहरको मुहार फेर्न तयार पारेका योजना सार्वजनिक गरेका हुन् ।
जनचासो सम्बोधन गर्न ‘रेपिड रेस्पोन्स टिम’ परिचालन
महानगरपालिकाबाट प्रदान हुने सेवा सुविधामा गुनासो बढेपछि र आफ्नै कामलाई थप जनमुखी र चुस्त बनाउन कार्यालयले ‘रेपिड रेस्पोन्स टिम’ परिचालन गर्ने कार्यक्रम सार्वजनिक गरेको छ । महानगरपालिका कार्यालय अन्तर्गतका प्रत्येक विभागबाट ३÷३ जनाको टिम गठन गरी जनचासोको विषय सम्बोधन गरिने कार्ययोजनामा उल्लेख छ ।
आगामी १ महिनाभित्रै यस्तो कामको सुरुवात गर्ने महानगरपालिकाले जनाएको छ ।
त्यस्तै, कर्मचारीलाई कार्यालय समयबाहेकका अधिकतम समय कार्यक्षेत्रमा खटाइने पनि कार्यालयले जनाएको छ । जसमा प्रमुख कार्यकारी अधिकृत र सबै विभागीय प्रमुख सहितका कर्मचारीलाई विहान ७ बजेदेखि ११ बजेसम्म तथा दिउँसो १२ बजेदेखि ५ बजेसम्म र साँझ ५ बजेदेखि १० बजेसम्म कार्यक्षेत्रमा रहने गरी त्यसको व्यवस्था मिलाईने कार्ययोजनामा उल्लेख छ ।
धुलो नियन्त्रण प्राथमिकतापछिल्लो समय काठमाडौंमा अत्यधिक बढ्दै गएको धुलो नियन्त्रणको कामलाई महानगरपालिकाले प्राथमिकतामा राखेको छ । जसका लागि धुलो हुने क्षेत्र तथा सडकमा उच्च क्षमताका धुलो तान्ने ब्रुमर तथा सक्सन भेहिकल खरिद गर्ने योजना महानगरपालिकाको छ । नेपाल सरकारको सहयोगमा छिमेकी देशबाट १० वटा यस्ता मेसिन खरिद गरी धुलो नियन्त्रणको प्रयास गर्ने महानगरपालिकाको योजना छ । आगामी ३ महिनाभित्र यस्तो काम सम्पन्न गर्ने कार्ययोजनामा उल्लेख गरिएको छ ।
राती नै फोहोर उठाईने
त्यस्तै, महानगरपालिकाले राती नै उत्सर्जित फोहोर व्यवस्थापन गर्ने विषय पनि आफ्नो कार्ययोजनामा समेटेको छ ।
फोहोरमैलाको व्यवस्थापनका लागि निजी क्षेत्रलाई जिम्मा लगाईने कार्ययोजनामा उल्लेख छ । काठमाडौंबाट उत्सर्जित फोहोर नुवाकोटको ओखरपौवा, सिसडोल, बञ्चरे डाँडा लगायतका स्थानमा एकीकृत व्यवस्थापन गरिने छ । दैनिक तथा साप्ताहिक तालिका नै बनाएर नियमित सडक सफाई गर्ने महानगरपालिकाको योजना छ ।
ने र सफाई कर्मचारीलाई भित्री सडक र टोल सफाइमा लगाइने योजनामा बताइएको छ । भित्री सडक र टोल सफाइ तिब्रता दिई शहरी सुन्दरता प्रवद्र्वनमा जोड दिइने कार्ययोजनामा उल्लेख छ ।
शहरी सौन्दर्य अभिवृद्विका लागि नागरिक सचेतनाका अभिवृद्वि गर्न साझा लगायतका सार्वजनिक सवारी साधनमार्फत भिडियो, अडियो तथा जिङ्गल सन्देश प्रवाह गरिने महानगरपालिकाले जनाएको छ ।
नदी किनार र सडकपेटीलाई हरियाली बनाईने
महानरगपालिकाले नदी किना र सडकपेटीलाई हरियाली बनाएर शहरी सौन्दर्य वृद्वि गर्ने लक्ष्य लिएको छ । नदी किनार र अन्य सम्भावित स्थानमा ठूला रुख रोप्नका लागि ५ थान ‘ट्री ट्रान्सप्लान्टर’ खरिद गरिने पनि जनाइएको छ ।
घर निर्माण र नक्सा पासलाई थप व्यवस्थित बनाइने, बिचौलिया हटाइनेत्यस्तै, महानगरपालिकाले आफ्नो ३० बुँदे सुधारका कार्ययोजनामा घर निर्माण इजाजत र नक्सा पासलाई थप व्यवस्थित गर्ने कार्यक्रम पनि समेटेको छ । जसका लागि स्थलगत निरीक्षण प्रक्रियालाई व्यवस्थित बनाउने जनाइएको छ । यसका लागि ३ हजार बर्गफिट, ३ देखि ५ हजार बर्गफिट र ५ देखि १० हजारको मापदण्ड तयार गरी लागू गरिनेछ ।
भवन निर्माण इजाजतमा विचौलियाको विगवीगी र अनियमितता बढेको गुनासो बढेपछि सोको व्यवस्थापनका लागि कुपन प्रणाली लागू गर्ने, डिजिटल हस्ताक्षर लागू गर्ने लगायतका काम आगामी २ महिनाभित्र सुरु गरिने कार्ययोजनामा उल्लेख छ ।
सार्वजनिक सम्पत्ति, जग्गा, नदी, उकास, सम्पदाको लगत अद्यावधि गर्ने र तिनको संरक्षण गर्ने पनि कार्ययोजनामा समावेश गरिएको छ । अतिक्रमित भूमि, सम्पत्ति, खाली गराउँदै महानगरको स्वामित्वमा ल्याइने छ । यसका लागि महानगरपालिकाको नापी कर्मचारीको छुट्टै एकाई गठन गरिने पनि जनाइएको छ ।
तीनकुनेदेखि एयरपोर्टसम्म बगैंचा
तीनकुनेदेखि त्रिभुवन विमानस्थलसम्मको क्षेत्रमा बगैंचा बनाईने पनि कार्ययोजनामा उल्लेख छ । तीनकुने क्षेत्रलाई हरियाली प्रवद्र्वन गरी सुरक्षाको उचित प्रवन्ध मिलाईने कार्ययोजनामा जनाइएको छ । यो कार्य आगामी ६ महिनाभित्र पूरा गर्ने महानगरपालिकाको लक्ष्य छ ।
फुटपाथ व्यवस्थापन गर्न डोजर परिचालन
महानगरपालिकाले फुटपाथ र मूख्य बाटोमा निर्माण सामग्री राखेर आवतजावतमा अवरोध गर्नेलाई विस्थापन गर्ने जनाएको छ । यसका लागि १ थान डोजर तथा लोडर, १ थान ट्रिपर र नगरप्रहरीको मोवाइल भ्यान परिचालन गरिनेछ ।
सार्वजनिक सडक र पार्कमा सौर्यबत्ती जडानमहानगरपालिकाले आगामी एक वर्षभित्र सार्वजनिक सडक र पार्कमा सौर्यबत्ती जडान गर्ने योजना बनाएको छ । निजी घर तथा व्यापारीक भवनको अघिल्लो भागमा फोकस लाईट अनिवार्य गर्ने, एउटै सडक वा गल्लीमा बनेका घरहरूमा एकै प्रकारको रंग लगाउन प्रोत्साहन गरिने र सडकबाट देखिने भागमा रंगरोगन गर्न लगाउने पनि कार्ययोजनामा उल्लेख छ ।
तीन सय लोकेसन म्याप
महानगरपालिकाले शहरभित्रका विभिन्न ३ सय स्थानमा सूचनासहितको लोकेसन म्याप राख्ने योजना पनि सार्वजनिक गरेको छ । आगामी ६ महिनाभित्र सार्वजनिक –निजी साझेदारी मोडलबाट २ देखि ३ सय स्थानमा सूचनासहितको लोकेसन म्याप र साइनबोर्ड राखिने कार्ययोजनामा उल्लेख छ ।
बालाजु पार्कको स्तरोन्नतीआगामी ६ महिनाभित्र बालाजु पार्कको स्तरोन्नती गरिने पनि कार्ययोजनामा उल्लेख छ । पार्कभित्रको बगैंचाको स्तरोन्नती गर्ने, तारवार गर्ने तथा सार्वजनिक उपयोगीता थप हुने गरी निर्माण कार्य गरिँदै जाने जनाइएको छ ।
४२ स्थानमा सार्वजनिक शौचालय त्यस्तै, महानगरपालिकाले आगामी ६ महिनाभित्र शहरका विभिन्न ४२ स्थानमा शहरी सेवा केन्द्र र सार्वजनिक शौचालय निर्माणको कार्ययोजना पनि तयार गरेको छ । सार्वजनिक –निजी साझेदारी मोडलमा यसको काम अघि बढाइसकिएको कार्यालयले जनाएको छ ।
स्काई बसमा पर्यटक घुमाईनेमहानगरपालिकाले पर्यटक घुमाउन स्काई बस सञ्चालनमा ल्याउने योजना पनि कार्यक्रममा समेटेको छ । पर्यटन व्यवसायीसँग सहकार्य गरी सार्वजनिक –निजी साझेदारी मोडलबाट यस्तो सेवा सञ्चालन गरिने छ । ६ महिनाभित्र यस्तो सेवा सुचारु गर्ने योजना महानगरपालिकाको छ ।
शहरी यातायातमा सहजतामहानगरपालिका क्षेत्रभित्र ध्वनी प्रदूषण, ट्राफिक जाम लगायतका समस्या समाधानका लागि सरोकारवाला निकायसँग समन्वय र छलफल गरी आगामी ६ महिनाभित्र कार्ययोजना बनाई काम सुरु गर्ने कार्यलयले जनाएको छ ।
त्यस्तै, पुरातात्विक तथा प्राचिन स्मारक तथा सम्पदाहरूको पुनर्निर्माण र व्यवस्थापनलाई पनि कार्ययोजनामा समेटिएको छ ।
महानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत इश्वरराज पौडेलले जनताले प्रत्यक्ष अनुभूत गर्नेगरी कार्ययोजना तयार गरिएको र यसको चुस्त कार्यन्वयनमा ध्यान दिइने बताए ।