१० साउन २०८३, आइतबार

कानून मन्त्रीको जवाफ कांग्रेसलाई 'फेस सेभिङ', हट्यो संसद्को अवरोध

कानून मन्त्रीको जवाफ कांग्रेसलाई 'फेस सेभिङ', हट्यो संसद्को अवरोध

काठमाडौं– बाँकेको खजुरामा नेपाली कांग्रेसकी जिल्ला सभापति किरण कोइरालामाथि भएको आक्रमणमा संलग्नलाई कारवाही गर्ने सरकारको प्रतिबद्धतापछि प्रमुख प्रतिपक्षी दल कांग्रेसले संसद्मा जारी गतिरोध अन्त्य गरेको छ । 

बुधवार बसेको प्रतिनिधि सभा बैठकमा सभामुखसँग समय लिएर कानून न्याय तथा संसदीय व्यवस्था मन्त्री भानुभक्त ढकालले कांग्रेस सभापति कोइरालामाथि आक्रमण गर्ने दोषीलाई कानूनी कारवाही गरिने प्रतिबद्धता जनाए । 

‘प्रधानमन्त्रीसँग बालुवाटामा भएको छलफलमा दोषीमाथि कारवाही गर्ने वचनबद्धता व्यक्त भएको जानकारी गराउँछु,’ ढकालले भने, ‘गल्ती नगरेका कोही फस्दैनन्, गल्ती गरेका कानूनी कारवाहीमा पर्छन् ।’

त्यसअघि प्रतिनिधि सभा बैठकको शुरूमै सभामुखसँग समय लिएर नेपाली कांग्रेसका दिलेन्द्रप्रसाद बडूले किटानी जाहेरी दिएको ४ दिनसम्म दर्ता नभएको भन्दै सरकारको जवाफ माग गरे । 

‘यो राजनीतिकरण गर्ने विषय थिएन, सरकारको जवाफ माग गर्दा सांसदहरूबाट जवाफ आउँदा दोषी लुकाउने कोशिश भएकाले आवाज उठाएका हौं,’ कांग्रेसले गठन गरेको छायाँ मन्त्रिपरिषद्का गृहमन्त्री समेत रहेका बडूले भने ।

यसअघि बाँके घटनाको विषयलाई लिएर कांग्रेसले आइतवार संसद्का दुई बैठक र सोमवार एउटा बैठक अवरुद्ध गरेको थियो । 

प्रतिनिधि सभाको बैठक सुचारू भएपछि स्वास्थ्य मन्त्री उपेन्द्र यादवले सार्वजनिक महत्त्वको विषयमा बोलेका छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्