
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबार परिसरमा संघीय संसद् भवनको शिलान्यास गरेका छन् ।
शहरी विकास तथा भवन निर्माण विभागले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले बुधवार भवनको शिलान्यास गरेका हुन् ।
शिलान्यास कार्यक्रममा प्रधानमन्त्री ओलीले संसदीय प्रणालीको राजनीति गरे पनि संसद् बस्ने ठाउँ नभएकोे स्थिति अब अन्त्य हुने बताए ।
करीब ५ अर्ब ३० करोड रुपैयाँको लागतमा तीन वर्षमा निर्माण सम्पन्न हुने यो भवनको निर्माण समय र गुणस्तरियतामा कुनै सम्झौता नहुने प्रधानमन्त्री ओलीको भनाइ छ ।
‘निर्माणमा कुनै प्रकारको विलम्ब मान्य हुँदैन, समयभित्र काम सक्नुहोस्, गुणस्तरमा सम्झौता हुँदैन,’ प्रधानमन्त्री ओलीले भने, ‘यस भवनमा नेपाललाई अग्रगतिमा लैजाने ठूला–ठूला निर्णयहरू हुनेछन्, यही भवनबाट धेरैवटा सक्षम सरकारहरू बन्नेछन् भन्ने मेरो अपेक्षा छ ।’
प्रधानमन्त्री ओलीले देश विकासको गतिमा अघि बढिसकेको उल्लेख गरे । ‘हामीले डेढ वर्षमा गरेका कामको परिणाम देखिन थालेको छ, अमलेखगञ्ज–मोतिहारी पाइपलाइनबाट इन्धन ल्याउने कुरा त्यसको एउटा उदाहरण हो,’ प्रधानमन्त्री ओलीले भने, ‘आगामी चैतभित्र रानीपोखरी निर्माण भइसक्छ, अरू यस्ता थुप्रै ठूला आयोजनाहरू अब निर्माण सम्पन्न भइसक्नेछन् ।’
सरकार सुशासन र भ्रष्टचारविरोधी अभियानमा सक्रियतापूर्वक लागेको प्रधानमन्त्री ओलीले जिकिर गरे । ‘हामी भ्रष्टाचारविरोधी अभियान यसरी चलाउँछौं कि यो संसद्मा त्यस विषयमा बहस नै गर्नु नपरोस्,’ प्रधानमन्त्री ओलीले भने ।
प्रधानमन्त्री ओलीले लोकतन्त्रमाथि कतैबट खतरा आए सरकार सहेर नबस्ने बताए ।
‘लोकतन्त्रमाथि खतरा आए सरकार सहेर बस्दैन, संविधानअनुसार जनताको बलिदानी खेर जान नदिन हामी सजग छौं,’ प्रधानमन्त्री ओलीले भने, ‘हामी लोकतान्त्रिक प्रणालीमा मात्र होइन, लोकतान्त्रिक प्रक्रियामा पनि विश्वास गर्छौं ।’