– नेपालमा निर्वाचनको इतिहास वि.सं. २००४ को स्थानीय निर्वाचनबाट सुरु भएको थियो । काठमाडौं म्युनिसिपालिटीको नाममा २००४ जेठ ३ गते तत्कालीन राणा प्रधानमन्त्री पद्मशमशेरले निर्वाचन गराएका थिए । निर्वाचनबाट गेहेन्द्रशमशेर थापा म्युनिसिपालिटीको पहिलो सभापति भएका थिए ।

-त्यतिवेलाको निर्वाचनमा करिब ६५ प्रतिशत मत खसेको अनुमान गरिएको छ । महिलालाई भने मत हाल्ने अधिकार दिइएको थिएन । २१ वर्ष पुगेका पुरुषलाई मात्रै मतदान गर्न पाउने अधिकार थियो ।
-त्यतिवेला म्युनिसिपालिटीमा १३,५५३ घरधुरी र ६८,११८ मतदाता थिए । २१ वटा वडामध्ये सबैभन्दा धेरै मतदाता भएको ११ नम्बर वडामा ९३६ घरधुरी र ६,६०३ मतदाता थिए । सबैभन्दा सानो १८ नम्बर वडामा २०९ घरधुरीमा ४४२ जना मतदाता थिए । वडा नं. २१ बाट निर्विरोध निर्वाचित भएका भुवनलाल प्रधान नेपालका पहिलो जननिर्वाचित प्रतिनिधि हुन् ।
-मतदातालाई प्रधानमन्त्री पद्मशमशेरको आदेश थियो, ‘तिमीहरूको मद्दतको निमित्त खटिएका कर्मचारीहरूको रेखदेखमा नगरपालिकाको काम गर्न सक्ने तिमीहरूको प्रतीतको असल, लायक, अनुभवी, प्रतिनिधि छानी पठाउने काम गर ।’
-२१ वडाबाट निर्वाचित २१ जना र सरकारले मनोनीत गरेका १० जना मिलाएर म्युनिसिपालिटी बोर्ड गठन भएको थियो । तर, मनोनीतहरूसँग विवाद भएपछि निर्वाचित २१ मध्ये १६ जना सदस्यहरूले राजीनामा दिएका थिए । रिक्त स्थानमा उपचुनाव गराउने घोषणा भए पनि वडामा उम्मेदवार नै तयार नहुँदा निर्वाचन हुन सकेन । वडाहरूबाट निर्वाचित र मनोनीत गरी १५ जना पदाधिकारी भने २००७ सालको आन्दोलनसम्म नगरपालिकामा कार्यरत थिए ।
२०१० मा पहिलोपटक महिलालाई मताधिकार
-००७ सालमा प्रजातन्त्र आएपछि १७ भदौ ०१० मा काठमाडौं नगरपालिकाको निर्वाचन भएको थियो । तर, यसपालि २१ वडालाई घटाएर १८ वटा बनाइएको थियो । साथै काठमाडौं म्युनिसिपालिटीको नाम परिवर्तन गरी काठमाडौं नगरपालिका पनि यसै वेला भएको हो ।
-२१ वर्ष उमेर पुगेकाहरूको गोप्य मतदानद्वारा निर्वाचन भएको थियो । यो निर्वाचनमा महिलाले पहिलोपटक मतदान गर्ने अधिकार पाएका थिए । साथै महिला प्रतिनिधि पनि निर्वाचित भएका थिए । ५ वटा दलले निर्वाचनमा भाग लिएका थिए भने स्वतन्त्र पनि उम्मेदवार भएका थिए । त्यतिवेला १८ पदका लागि ७३ जनाले उम्मेदवारी दिएका थिए ।
-काठमाडौंको वडा नम्बर ८ बाट ४ हजार ११३ मत खसेकोमा २ हजार ४५५ मत ल्याएर साधनादेवी प्रधान पहिलो महिला जनप्रतिनिधि बनेकी थिइन् ।
२०१४ मा सभापति कांग्रेस, उपसभापति कम्युनिस्ट
-प्रत्येक ४ वर्षमा नगरपालिकाको निर्वाचन गर्ने व्यवस्थाअनुसार काठमाडौं नगरपालिकाको अर्को निर्वाचन २०१४ माघ ७ मा भएको थियो । निर्वाचनमा नगरपालिकाका १८ वडा सदस्यका लागि ४९ जनाले उम्मेदवारी दिएका थिए ।
-निर्वाचनबाट नगरपालिका सभापतिमा कांग्रेसबाट प्रयागराजसिंह सुवाल र उपसभापतिमा नेपाल कम्युनिस्ट पार्टीका कृष्णलाल श्रेष्ठ चुनिएका थिए ।
०१८ को निर्वाचनमा हात उठाएर मतदान
-१ पुस ०१७ मा तत्कालीन राजा महेन्द्रले पञ्चायती व्यवस्था सुरु गरेपछि ०१८ फागुन ७ गते गाउँ पञ्चायतको निर्वाचन गराएका थिए । गाउँसभाभित्रका वडाबाट छानिएका सदस्यबाट प्रधानपञ्च र उपप्रधानपञ्च छान्ने व्यवस्था थियो । गाउँसभालाई ९ वटा वडामा विभाजन गरिएको थियो । निर्वाचन गर्न ४ लाख रुपैयाँ खर्च भएको थियो ।
-मतदातालाई मत दिने ठाउँको कोठामा लगेर ढोका बन्द गरी उम्मेदवारको नाम क्रमशः भन्दै हात उठाउन लगाइन्थ्यो । मत दिइसकेको मतदातालाई क्रमशः बाहिर पठाउँदै प्रत्येक उम्मेदवारको पक्षमा उठेको हातको गणनाका आधारमा विजयी घोषणा गरिन्थ्यो ।
०१९ मा अञ्चल पञ्चायतको पनि निर्वाचन
१० हजारभन्दा बढी जनसंख्या भएकोे नगरमा नगर पञ्चायतको स्थापना गर्न सक्ने व्यवस्थाअनुसार ०१९ मा नगर पञ्चायतको निर्वाचन गरिएको थियो । निर्वाचन आयोगले गराएको यो पहिलो निर्वाचनमा उम्मेदवारले ५० रुपैयाँ धरौटी राख्नुपर्ने व्यवस्था थियो भने उम्मेदवारले चाहेको निर्वाचन चिह्न उपलब्ध गराउने व्यवस्था पनि थियो । सोही वर्ष जिल्ला पञ्चायतको निर्वाचन पनि भएको थियो । यो निर्वाचन गोप्य मतदानबाट सभापति, उपसभापति र ९ जना सदस्य गरी ११ जनाको कार्यकारिणी समितिको निर्वाचन भएको थियो । साथै, यसै वर्ष अञ्चल पञ्चायत निर्वाचन पनि भएको थियो । अञ्चलभित्रका जिल्ला पञ्चायतका सदस्यहरू स्वतः सदस्य बन्ने व्यवस्था थियो । सभापति, उपसभापति र ९ जना सदस्य हुने गरी अञ्चल पञ्चायत गठनको व्यवस्था थियो ।
०२० मा उम्मेदवारलाई निर्वाचन रङ
यसपालि निर्वाचन हुनु दुई दिनअघि उम्मेदवारलाई रङ रोजाइएको थियो । उम्मेदवारको रोजाइअनुसार गोप्य कोठामा थरीथरीका मतपेटिका राखिएको थियो । मतदाताहरू भित्र गएर आफूले रोजेको उम्मेदवारको रङको बाक्सामा मत खसाल्थे । जसको बाक्सामा धेरै मत हुन्थे उही उम्मेदवार विजयी घोषित हुने व्यवस्था थियो ।
स्थानीय निर्वाचन २०३२
०३२ मा गाउँ, नगर र जिल्ला पञ्चायतको छुट्टाछुट्टै निर्वाचन भएका थिए । यसपालि अप्रत्यक्ष निर्वाचन पद्धति अपनाई जनप्रतिधि छनोट गर्ने व्यवस्था गरिएको थियो । गाउँ पञ्चायतको निर्वाचनमा उम्मेदवार हुनका लागि गाउँ फर्क राष्ट्रिय अभियानबाट अनुमोदन हुनुपर्ने अनिवार्य व्यवस्था गरिएको थियो । प्रत्येक वडाबाट पाँचजना सदस्यको निर्वाचन गरी गाउँसभाका सबै सदस्यमध्येबाट छानिएका नौजना सदस्य वडा समितिको अध्यक्ष हुने व्यवस्था थियो । गाउँ, नगर र जिल्लाका प्रधानपञ्च र उपप्रधानपञ्चले भने खसेको मतको ५० प्रतिशत मत ल्याउनुपर्ने व्यवस्था थियो ।
स्थानीय निर्वाचन २०३९
नेपालभर रहेका ४ हजार २२ गाउँ र २९ नगर पञ्चायतसहित जिल्ला पञ्चायतको निर्वाचन भएको थियो । निर्वाचन आयोगले वैशाख २८ र ३१ तथा जेठ ३ र ४ गते निर्वाचन गरेको थियो । प्रत्येक गाउँबाट ४७ जनाका दरले १ लाख ८९ हजार ३४ जना र २९ नगरबाट २ हजार ५ सय प्रतिनिधि छानिने व्यवस्था थियो । यो निर्वाचनमा मन्त्रिपरिषद् सदस्यलाई प्रचारप्रसारमा सरकारी गाडी प्रयोगमा रोक लगाएको थियो ।
निर्वाचनका लागि ४० हजार २२० कर्मचारी गाउँ पञ्चायतमा र २ हजार ९ सय कर्मचारी नगरमा खटिएका थिए । जिल्ला पञ्चायतको निर्वाचनमा सभापतिका लागि दुईजना र उपसभापतिका लागि १२ जना महिला प्रतिस्पर्धामा थिए । साथै सदस्यका लागि १२ जनाले उम्मेदवारी दिएका थिए । सभापतिमा एकजना र सदस्यमा ६ जना महिला निर्वाचित भएका थिए ।
स्थानीय निर्वाचन २०४३
चैत ७ र १० गते गाउँ र नगर पञ्चायतको निर्वाचन भएको थियो । गाउँ र नगरको निर्वाचनमा १ लाख ९१ हजार ६२ जना जनप्रतिनिधि छानिनुपर्ने थियो । त्यतिवेला ४ हजार १५ वटा गाउँ पञ्चायत र ३३ वटा नगर पञ्चायत थिए ।
उम्मेदवारलाई निर्वाचन खर्चको सीमा तोकिएको थियो । गाउँसभा र गाउँ पञ्चायत सदस्यलाई १५ सय, नगरसभा र नगर पञ्चायत सदस्यलाई ५ हजार, गाउँ पञ्चायत प्रधानपञ्च र उपप्रधानपञ्चलाई ५ हजार, नगर पञ्चायत प्रधानपञ्च र उपप्रधानपञ्चलाई १५ हजार रुपैयाँ सीमा तोकिएको थियो ।
स्थानीय निर्वाचन २०४९
०४६ को आन्दोलनपछि ४ हजार १५ गाउँ पञ्चायतलाई परिवर्तन गरी ३ हजार ९ सय ९५ गाउँ विकास समिति बनाइएको थियो । ३३ नगरलाई नगरपालिका कायम गरिएको थियो ।
१ करोड २० लाख मतदाता थिए भने कांग्रेसले ६० जिल्ला र एमालेले ८ वटा जिल्लामा सभापति जितेका थिए । राप्रपाले ३ र संयुक्त जनमोर्चाले २ वटा जिल्लामा सभापति जितेका थिए ।
स्थानीय निर्वाचन २०५४
०५४ वैशाख २० र जेठ ४ मा ३ हजार ९ सय १३ गाविस र ५८ नगरपालिकाको निर्वाचन भएको थियो । त्यतिवेला १ करोड २५ लाख ३८ हजार २ सय ७३ जना मतदाता थिए ।
निर्वाचनबाट गाविस र नगरपालिकामा पौन दुई लाख जनप्रतिनिधि निर्वाचित भएका थिए । निर्वाचनमा एमालेले ४१ वटा नगरपालिकामा प्रमुख जितेको थियो भने कांग्रेसले ६ वटा र राप्रपाले ३ वटामा प्रमुख जितेको थियो । त्यतिवेला स्वतन्त्र भने ५ जना निर्वाचित भएका थिए ।
नगरपालिका निर्वाचन २०६२
तत्कालीन राजा ज्ञानेन्द्र शाहले शासन हातमा लिएपछि ०६२ मा स्थानीय निकायको निर्वाचन गर्न सुरुमा नगरपालिकाको निर्वाचन गरेका थिए । प्रमुख राजनीतिक दलहरूले बहिष्कार गरेको निर्वाचनमा २२ दल सहभागी थिए । ५८ मध्ये २२ वटा नगरपालिकामा निर्विरोध निर्वाचन भएको थियो । ३६ वटा नगरपालिकामा भने मतदान भएको थियो । त्यतिवेला ५८ वटा नगरपालिकाका प्रमुख, उपप्रमुख, वडाध्यक्ष र सदस्य गरी ४ हजार १ सय ४६ पदका लागि निर्वाचन भएको थियो । तर, राजनीतिक परिवर्तनसँगै सो निर्वाचनले कुनै संवैधानिक मान्यता पाएन । -
नयाँ पत्रिकाबाट साभार