
काठमाडौं – बेलायतका एक जोडी बुवा र छोरा विमानस्थलको बारमा बसेर रक्सी पिइरहेको बेलामा विमान उड्न ठिक्क परेको थियो । विमान छुट्न लागेको थाहा पाएपछि बाउछोरा विमान भएतिर बेपत्तासँग दौडिएका छन् र
यसक्रममा उनीहरूलाई सशस्त्र प्रहरीले पनि लखेटेको छ ।
इटलीको सार्डिनियामा रहेको काग्लियरी विमानस्थलमा एन्टोनिनो लोइ र टोनी लोइले लन्डन जान लागेको ईजीजेट विमानमा चढ्नका लागि दौडिँदा ढोका समेत भत्काएका छन् ।
उनीहरूलाई अत्यधिक ढिलो गरेका कारण विमानमा चढ्न नदिइने भनिएपछि इमर्जेन्सी एग्जिट जबर्जस्ती खोल्न खोजेका थिए । त्यसपछि इटालेली प्रहरीले उनीहरूलाई बन्दूक तेर्स्याएर नियन्त्रणमा लिएको थियो ।
उनीहरू डिपार्चर लाउन्जमा बसेर पिइरहँदा उडानको लास्ट कल घोषणा गरिएको थियो । ढोका फुटाएकोमा उनीहरूलाई दुई हजार पाउन्ड जरिवाना गरिएको छ ।
घटना मंगलवार भएको हो । लोइले आफूहरू मातिएर बसेको पनि नभएको अनि अपराधी पनि नभएको र विमानमा चढ्न मात्र खोजेको बताए ।
एजेन्सी