काठमाडौँ, १९ चैत - विभिन्न राजनीतिक दलका नेताहरूले संविधान कार्यान्वयनका लागि सहयोग गर्न नागरिक समाज, मानव अधिकारकर्मी, बुद्धिजीवी तथा सम्पूर्ण नागरिकमा अपिल गरेका छन् ।
संवैधानिक कानुन व्यवसायी मञ्चद्वारा यहाँ आज आयोजित नेपालको संविधानका दार्शनिक आधारहरूसम्बन्धी संवैधानिक संवादमा सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले नेपालमा विभिन्न बेथिति छन् तर त्यसका बीच पनि सबै मिलेर संविधान कार्यान्वयनसँगै देश विकासलाई अगाडि बढाउनुपर्छ भन्नुभयो ।
नेपालको संविधान कार्यान्वयनसँगै राजनीतिक स्थिरता कायम गर्दै आर्थिक, सामाजिक, सांस्कृतिक विकाससँगै बौद्धिक विकाससमेत गर्नुपर्ने सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री कार्कीको भनाइ थियो ।
नेकपा (एमाले)का उपमहासचिव घनश्याम भुसालले राजनीतिक दलका नेताहरूले पार्टीगत र व्यक्तिगत स्वार्थभन्दा माथि उठेर मुलुकमा व्याप्त बेरोजगारीको अन्त्य गर्दै देश विकासलाई राजनीतिक एजेन्डा बनाउनुपर्ने धारणा राख्नुभयो ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री डा मीनेन्द्र रिजालले संविधानप्रति असन्तुष्ट दलहरूका सवाललाई संविधान संशोधनमार्फत समावेश गरेर सर्वमान्य बनाउँदै कार्यान्वयन गर्नुपर्ने बताउनुभयो ।
सांसद लालबाबु यादव, वरिष्ठ अधिवक्ताद्वय शम्भु थापा र बद्रीबहादुर कार्कीलगायतले संविधानबारे जनतालाई बुझाउँदै कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो ।