२३ जेठ २०८३, शनिबार

मासुको सन्देशमा गाईको तस्वीर छापिएपछि पशु सेवा विभागले माग्यो माफी

मासुको सन्देशमा गाईको तस्वीर छापिएपछि पशु सेवा विभागले माग्यो माफी
फाइल फोटो

काठमाडौं – पशु सेवा विभागले ‘बधशालादेखि भान्सासम्म स्वच्छ र सफा मासु’ भन्ने नारा लिएर छपाएको सन्देशमूलक पोस्टरमा गाईको तस्वीर छापिनुमा गल्ती भएको भन्दै माफी मागेको छ । 

पशुपन्छीजन्य उत्पादनको प्रशोधन तथा उपभोगलाई गुणस्तरीय बनाउन भन्दै छपाएको पोस्टरमा गल्ती भएको भन्दै विभागले मंगलवार माफी मागेको हो । 

पशु सेवा विभाग, राष्ट्रिय पशु आहारा तथा लाईभस्टक गुण व्यवस्थापन प्रयोगशालाले बा२झ ३८११ नम्बरको मोबाइल भ्यानमा राखेको पोस्टरमध्ये एउटा पोस्टरमा गाईको तस्वीर भूलबस छापिएको जनाएको थियो । 

पोस्टरमा माछामासु, खसी लगायतका पशुपक्षीको तस्वीर राखिएको छ । जसमा गाईको पनि तस्वीर छापिएको छ ।

मासु प्रयोजनको सन्देशमा गाईको तस्वीर छापिएपछि सर्वत्र आलोचना भइरहेको छ । गाईको तस्वीर भूलबस छापिएको र अहिले हटाइसकेको पशु सेवा विभागले जनाएको छ । 

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले मासुको सन्देशमा गाईको तस्वीर राखिएकोप्रति गम्भीर आपत्ति जनाएको छ । पार्टी प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले विज्ञप्ति जारी गर्दै ‘हिन्दूहरूको आस्था एवं राष्ट्रिय जनावर गाईको तस्बिर संलग्न गरिनु दुःखद र दुर्भाग्यपूर्ण’ रहेको जनाएका छन् ।

यस्तो छ राप्रपाको विज्ञप्ति -

कृषि तथा पशुपंक्षी विकास मन्त्रालय अन्तर्गतको पशुसेवा विभागले आम जनतालाई स्वच्छ र स्वस्थ मासु खान सचेत गराउन तयार पारिएको ‘बधशालादेखि भान्सासम्म स्वच्छ र स्वस्थ मासु’ भन्ने नेपाल सरकारको लोगो सहितको प्रचार सामग्री पोस्टरमा राष्ट्रिय जनावर गाईको समेत तस्विर राखि गाइलाइ मासुजन्य जनावरको रुपमा गरिएको प्रचारप्रति राप्रपाको गम्भीर ध्यानाकर्षण भएको छ ।

महान् चाड बडादशैं लक्षित प्रचार सामग्रीमा हिन्दुहरुको आस्था एवं राष्ट्रिय जनावर गाईको तस्बिर संलग्न गरिनु दुःखद र दुर्भाग्यपूर्ण छ । धार्मिक आस्था जस्तो संवेदनशील विषयमा अक्षम्य त्रुटी गरिनु सामान्य विषय किमार्थ हुन सक्दैन । यो नियतवश वा भुलवश के हो भन्ने बारेमा अबिलम्ब छानबिन गरी दोषीलाई कडा कारबाही गर्न सरकारसँग राप्रपा माग गर्दछ । साथै प्रकाशन भइसकेको उपरोक्त प्रचार सामग्री संकलन, जफत र नष्ट गर्न पनि राप्रपा जोडदार माग गर्दछ ।

मोहन श्रेष्ठ
प्रचार विभाग प्रमुख, राप्रपा ।

salt training

कमेन्ट गर्नुहोस्