
काठमाडौं– फिफा द बेस्ट अवार्ड आफ्ना चिरपरिचित प्रतिद्वन्द्वी लियोनेल मेस्सीले जितेपछि क्रिस्टियानो रोनाल्डोले पहिलो पटक आफ्नो धारणा सार्वजनिक गरेका छन् ।
सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत रोनाल्डोले रातपछि अवश्य बिहानी आउने प्रतिक्रिया दिएका हुन् ।
'धैर्यता र दृढता दुई त्यस्ता विशेषता हुन्, जसले व्यावसायिकलाई सिकारूसँग अलग बनाउँछ । आज जतिपनि ठूला कुरा छन्, तिनीहरू सबै सानोबाटै शुरू भएका हुन् । तपाईंले सबैथोक गर्न सम्भव हुँदैन, तर तपाईंले आफ्नो सपनालाई साकार पार्नका लागि सबैथोक गर्नुपर्छ । सम्झिनुस्, हरेक रातपछि बिहान अवश्य हुन्छ ।'
फिफाको उत्कृष्ट पुरुष खेलाडीको अवार्ड मेस्सीले जित्दा रोनाल्डो लिभरपूलका भर्गिल भान डाइकपछि तेस्रो स्थानमा खुम्चिएका थिए ।
यससँगै अर्जेन्टिना तथा बार्सिलोनाका स्टार मेस्सीले पाएको उक्त अवार्डको संख्या ६ पुगेको छ, युभेन्टसका लागि खेल्ने पोर्चुगिच स्टार रोनाल्डोले भने ५ पटक जितेका छन् ।