२४ जेठ २०८३, आइतबार

कृषि विकास बैंकबाट ५ करोड चोरी : प्रहरी भन्छ- ५ अर्ब रुपैयाँ चोरिने जोखिम थियो !

असोज ८, २०७६
कृषि विकास बैंकबाट ५ करोड चोरी : प्रहरी भन्छ- ५ अर्ब रुपैयाँ चोरिने जोखिम थियो !

काठमाडौं– कृषि विकास बैंकबाट झण्डै ५ करोड रूपैयाँ चोरिएको घटनामा संलग्न रहेको आशंकामा १२ जनालाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखा टेकुमा बुधवार पत्रकार सम्मेलन गरी यस्तो जानकारी दिइएको हो । मुख्य अभियुक्त भने भारतमा रहेको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जनाएको  छ।

घटनामा संलग्नहरूलाई पक्राउ गरेर झण्डै ५ अर्बसम्म चोरिन सक्ने खतरा टारेको दाबी प्रहरीले गरेको छ ।

'५० मिलियन डलर ५ अर्ब रुपैयाँसम्म ह्याक हुन सक्ने भन्ने कुरा पक्राउ परेका एजेन्टहरूबाट थाहा हुन आएको छ,' बुधवारको पत्रकार सम्मेलनमा महाशाखा प्रमुख एसएसपी सहकूल थापाले भने, 'बेलैमा अनुसन्धान नगरेको भए ५ अर्बसम्म ह्याक हुनसक्ने अवस्था रहेछ भन्ने कुरा प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।'

कृषि विकास बैंककै एक कर्मचारीको आईडी प्रयोग गरी ११ जना व्यक्तिको खातामा ४ करोड ७३ लाख रूपैयाँ ट्रान्सफर भएको पाइएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार तीमध्ये करीब ६० लाख रुपैयाँ निकालिएको थियो । पैसा निकाल्ने र त्यसमा सहयोग गर्नेहरूलाई निकालिएको पैसासहित नियन्त्रणमा लिइएको दाबी प्रहरीको छ ।

यसरी कृषि विकास बैंकको लाहान शाखाका कर्मचारीको आईडी प्रयोग गरी पैसा चोरिएको घटना आइतवारको हो ।

पक्राउ परेकाहरूलाई बैंकिङ कसूरअन्तर्गतको संगठित अपराधमा म्याद थपेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेकामा बैंकका कर्मचारीहरू छैनन् । यद्यपि बैंकसँग विभिन्न किसिमको कारोवार गरिरहेका व्यक्तिहरू भने रहेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

salt training

कमेन्ट गर्नुहोस्