
फेरि बैंकको सफ्टवेयर ह्याक
काठमाडौँ दरबारमार्गस्थित एटिएम ह्याक गरी विभिन्न बैंकको करोडौँ रुपैयाँ निकालिएको घटना सेलाउन नपाउँदै फेरि उस्तै प्रकृतिको घटना सार्वजनिक भएपछि सनसनी मच्चिएको छ । एक विदेशी ह्याकरले कृषि विकास बैंकको सफ्वेयर ह्याक गरी नेपाली नागरिकलाई प्रयोग गरेर पैसा निकालेको खुलेको महानगरीय अपराध नियन्त्रण महाशाखाका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक सहकुलबहादुर थापाले जानकारी दिए ।
उनका अनुसार पैसा निकाल्ने कार्यमा संलग्न रहेका १२ जनालाई पक्राउ गरी अनुसन्धान थालिएको छ । एउटा रेमिट कम्पनीका कर्मचारीको सानो सूचनाका कारण ठूलो रकम विदेश लैजाने ह्याकरको योजना विफल भएको प्रहरीले जनाएको छ ।
“ह्याकरले रु पाँच अर्ब निकाल्ने योजना बनाएका थिए, झण्डै रु ७० लाख निकालेको पाइयो, ६० लाख बरामद गरेका छौँ भने रु १० लाख हुण्डीमार्फत भारत लगिसकेको खुल्न आएको छ”, प्रहरी वरिष्ठ उपरीक्षक थापाले भने ।
उक्त घटनाका मुख्य योजनाकार विदेशी नागरिक ‘काले’ भन्ने पिटर हुन् । उनी लामो समयदेखि भारतको मुम्बईमा बसी नेपालका बैंक तथा वित्तीय संस्थाको सफ्टवेयर ह्याक गरी रकम निकाल्दै आएका थिए । उनको योजना नेपालबाट रु पाँच अर्ब लैजाने रहेको खुल्न आएको छ । उसले नेपाली नागरिकलाई प्रयोग गरी कृषि विकास बैंक, पानस रेमिट, कैलाश विकास बैंक र नबिल बैंक लगायतका बैंक तथा वित्तीय संस्थाहरूको सफ्टवेयर ह्याक गरी रकम निकाल्दै आएका थिए ।
महानगरीय अपराध महाशाखाको विशेष अनुसन्धान टोलीले पैसा निकाल्दै गर्दा विभिन्न क्षेत्रबाट १२ जनालाई पक्राउ गर्न सफल भएको छ । ह्याकरको समूह तथा सहयोगीहरुले बैंकमार्फत रु चार करोड ७३ लाख रकम भने विभिन्न व्यक्तिको नाममा सारिसकेको पाइए पनि सही समयमा प्राप्त सूचना र प्रहरीको तत्कालको अनुसन्धानले उक्त रकम निकाल्नबाट जोगिएको छ ।
सोङ ताओ स्वदेश फिर्ता
चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका प्रमुख सोङ ताओ बुधबार स्वदेश फर्किएका छन् । सि जिनपिङ विचाधाराबारे चिनियाँ कम्युनिष्ट पार्टीको धारणा र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र चिनियाँ कम्युनिष्ट पार्टीबीचको विचारात्मक छलफल’ कार्यक्रममा सहभागी भएर उनी बुधबार चीन फर्किएको नेकपाका विदेश विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।
सोङ ताओलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेकपा स्कूल विभाग उपप्रमुख वेदुराम भुसाल र रिजालले बिदाइ गरेका थिए । कार्यक्रममा सहभागी हुन उनीसहित चिनियाँ कम्युनिष्ट पार्टीका १४ जना नेता नेपाल आएका थिए ।
निजी मेडिकल कलेजमा भर्ना अन्योल
त्रिभुवन विश्वविद्यालय र काठमाडाैं विश्वविद्यालयले चिकित्सा शिक्षा अन्तर्गत एमबीबीएस र बीडीएस तहको प्रवेश परीक्षाको नतिजा सार्वजनिक गरेसँगै निजी मेडिकल कलेजमा भर्ना अन्योल देखा परेको छ ।
एशोसिएशन अफ प्राइभेट मेडिकल एण्ड डेण्टल कलेज अफ नेपालले यथास्थितिमा ती तहमा नयाँ भर्ना नलिने घोषणा गरेसँगै निजी मेडिकल कलेजमा भर्ना अन्योल देखिएको हो ।
निजी कलेजका सिट सङ्ख्या, शुल्क निर्धारण, विदेशी भर्नासम्बन्धी स्पष्ट नीति, छात्रवृत्तिको अनुदानलगायतका स्पष्ट व्यवस्था नगरी सरकारले भर्ना प्रक्रिया अगाडि बढाएकाले एशिोसिएशनले भर्ना नलिने घोषणा गरेको हो ।
गायत्री साहले मेडिसिटीमा छाडेको बच्चाबारे अदालतको आदेश
पूर्व सांसद गायत्री साहले मेडिसिटी अस्पतालमा जन्माएर छाडेको शिशुको वीर अस्पतालमा स्वास्थ्य परीक्षण गराएर मात्र डिस्चार्ज गर्न मिल्ने कि नमिल्ने यकिन गर्न उच्च अदालत पाटनले आदेश दिएको छ ।
शिशुमा 'डाउन्स सिन्ड्रोम' देखिएपछि साहले अस्पतालको कमजोरीका कारण त्यस्तो शिशु जन्मिएको भन्दै अहिलेसम्म घर लैजान मानेकी छैनन् । यद्यपि साह दिनहुँ दूध चुसाउन अस्पताल भने जाने गरेको देखिएको छ ।
झण्डै ६ महिना बित्न लाग्दापनि अभिभावक गायत्री साह ९आमा० र राजेश महतोले शिशु जिम्मा लिन नमानेपछि निज शिशुलाई डिस्चार्ज गर्ने अनुमति माग्दै मेडिसिटीका तर्फबाट अदालतमा रिट परेको थियो ।
उक्त रिटमाथि सुनुवाई गर्दै न्यायाधीशद्वय श्रीमणकुमार गौतम र टेकनारायण कुँवरको संयुक्त इजलासले शिशुलाई मेडिसिटीको जिकिरअनुसार डिस्चार्ज गर्न मिल्ने कि नमिल्ने भन्ने कुरा ३ साताभित्र वीर अस्पतालमा स्वास्थ्य परीक्षण गराई मेडिकल बोर्डको रायमा निर्णय लिन आदेश दिएको हो ।
डिस्चार्ज गर्न मिल्ने अवस्थामा भए शिशुको कानूनी अधिकार सुनिश्चित हुने गरी अभिभावकको जिम्मा लगाउन र नमिल्ने अवस्थामा अभिभावकले चाहेमाबाहेक यथास्थितिमा उपचाररत राख्न आदेशमा भनिएको छ ।
उपचार खर्च कसले व्यहोर्ने भन्ने विषयमा देखिएको विवादका सम्बन्धमा भने केही बोलिरहनुनपर्ने आदेश भएको छ ।
समाजवादी पार्टीसंग एकता हुनसक्छः नेता महतो
राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल, अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले समाजवादी पार्टीले सरकार छाडेपछि समानताको आधारमा पार्टी एकता हुने बताएका छन् ।
जनकपुरमा बुधबार आयोजित पत्रकार सम्मेलनमा उनले जनताको माग र वैकल्पिक शक्ति निर्माणका लागि पार्टी एकता हुनुपर्ने बताए ।
नेता महतोले सत्तामा बसेर वैकल्पिक शक्ति निर्माण नहुने बताउँदै जनताको भावनालाई सम्मान गर्न मधेशवादी छ दल एकीकरण भइसकेको र अब समाजवादी पार्टीसँग पनि एकता हुनुपर्ने धारणा व्यक्त गरे ।
गाईगोरु मृत्यु प्रकरण
नेपालगञ्जबाट दैलेख लैजाने क्रममा सुर्खेतको कटकुुवा जङ्गलमा गाईगोरु मरेको घटनाका सम्बन्धमा छानबिन गर्न बनेको समितिले बुधबार गृहमन्त्री रामबहादुर थापालाई आफ्नो प्रतिवेदन बुझाएको छ ।
गृह मन्त्रालयका अनुसार छानबिन समितिले उक्त घटनामा केही व्यक्ति दोषी देखिएकाले कारवाहीका लागि सिफारिस गर्दै बुधबार गृहमन्त्री थापालाई प्रतिवेदन पेश गरेको हो । प्रतिवेदन बुझ्दै गृहमन्त्री थापाले प्रतिवेदनको सिफारिसका आधारमा दोषीलाई कारवाही गर्ने प्रतिबद्धता जनाए ।
गत भदौ १२ गते बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाले दैलेख पठाएको झण्डै ३०० मध्ये ३५ गाईगोरु सुर्खेतको कटकुवा जङ्गल आसपास क्षेत्रमा मृत फेला परेका थिए । घटनापछि भदौ १४ गते गृह मन्त्रालयले गाईगोरुको अस्वभाविक मृत्यु भएको भन्दै घटनाको सत्यतथ्य पत्ता लगाई दोषीलाई कारवाहीको सिफारिस गर्न मन्त्रालयका उपसचिव सागरमणि पाठकको संयोजकत्वमा चार सदस्यीय छानबिन समिति गठन गरेको थियो ।
रोकिएन नेप्सेको ओरालो यात्रा
धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक बुधबार पनि पुनःओरालो लागेको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३.०३ अङ्कले घटेर एक हजार १३१.५३ मा पुगेको छ । यसैगरी सेन्सेटिभ परिसूचक पनि ०.७१ अङ्कले घटेर २४७.७० मा पुगेको थामिएको छ । परिसूचक घटेसँगै कारोवार रकममा पनि भारी गिरावट आएको छ । बुधबार कूल १६६ कम्पनीको सात लाख ७७ हजार ७३५ कित्ता शेयर रु १६ करोड ६९ लाख २१ हजार ७७९ मा खरीद बिक्री भयो ।
कारोवार भएका कूल १२ उपसमूहमध्ये दुई समूहको मात्र शेयर उकालो लागेको छ । दश उपसमूहको शेयर भने ओरालो लागेको छ । लघुवित्त ०.८ र अन्य उपसमूहको शेयर ३.१९ अङ्कले बढेको छ ।
यसैगरी बैंकिङ ४.८३, व्यापार २.३७, होटल २.२९, विकास बैंक ३.२९, जलविद्युत् १.४५, वित्त ३.४८, निर्जीवन बीमा २२.४४, उत्पादन ३.२७, जीवन बीमा ३.०८ र सामूहिक लगानी कोषको शेयर ०.१ अङ्कले घटेको छ ।
बुधबार कुनै पनि कम्पनीको शेयर एक करोडमाथि कारोवार हुन सकेनन् । कारोवार रकमका आधारमा बुधबार सानिमा बैंक शीर्ष स्थानमा रह्यो । सो बैंकको शेयर रु ८६ लाख ५६ हजार २२९ मा खरीद बिक्री भई शीर्ष स्थानमा रह्यो ।
यस्तै नेपाल बैंकको रु ८३ लाख २४ हजार ५११, प्रभु बैंकको रु ६८ लाख १८ हजार १९१, नेपाल लाइफ इन्स्योरेन्सको रु ५९ लाख ६३ हजार ७४० र एनआइसी एशिया बैंकको शेयर रु ५८ लाख चार हजार २०९ मा खरीद बिक्री भयो ।
नवौँ गैरआवासीय नेपाली विश्व सम्मेलन तयारी अन्तिम चरणमा
‘म, मेरो एनआरएन ए र मेरो नेपाल’ मूल विषयमा आधारित भएर यस वर्षको नवौँ गैरआवासीय नेपाली विश्व सम्मेलन तथा गैरआवासीय नेपाली सङ्घको अन्तरराष्ट्रिय महाधिवेशन यही असोजको २८ गतेदेखि ३० गतेसम्म काठमाडौँमा आयोजना गरिने भएको छ ।
यस वर्षको विश्व सम्मेलन पनि विगतमा झैँ नेपाल सरकार नेपाल उद्योग वाणिज्य महासङ्घ र गैरआवासीय नेपाली सङ्घको संयुक्त आयोजनामा हुन गइरहेको छ । उक्त सम्मेलन आयोजनाका लागि परराष्ट्र मन्त्रीको अध्यक्षतामा एक उच्चस्तरीय आयोजक समितिको गठन भइसकेको छ । यस आयोजक समितिमा नेपाल सरकारका प्रतिनिधि र सरोकारवाला सङ्घसंस्थाका अध्यक्ष रहेका छन् ।
सङ्घको आन्तरिक आयोजक समिति सङ्घका अध्यक्ष भवन भट्टको अध्यक्षतामा गठन भएको छ । सम्मेलन तथा महाधिवेशनसम्बन्धी तयारीका काम तदारुकताका साथ अघि बढी रहेका छन् । सम्मेलनको मूल विषय ‘म, मेरो एनआरएन ए र मेरो नेपाल’ मा आधारित भएर विभिन्न शत्रको आयोजना गरिने गैरआवासीय नेपाली सङ्घ अन्तरराष्ट्रिय समन्वय परिषद्का प्रवक्ता भुषण घिमिरेले जानकारी दिए ।
यसै सन्दर्भमा अफ्रिका, अमेरिका, एशिया प्रशान्त, युरोप, मध्यपूर्व र ओसेनिया क्षेत्रमा रहेका एनसिसीको महाधिवेशन सम्पन्न भई अन्तरराष्ट्रिय महाधिवेशन मतदान अधिकारसहितका प्रतिनिधि चयनको कार्य भइरहेका छन् । अन्तरराष्ट्रिय समन्वय परिषद्ले प्रतिनिधिको नामावली जसमा कूल मतदाताको सङ्ख्यामा २० प्रतिशत थप गरी यही ३० सेप्टेम्बरसम्म सचिवालयमा उपलब्ध गराउनुपर्ने गरी निर्णय गरेको छ र उक्त निर्णय राष्ट्रिय समन्वय परिषद्लाई गराइसकिएको छ ।
यसपछि एनसिसीले पठाएका प्रतिनिधिको नामावलीलाई अन्तिम रुप दिई मतदाताको नामावली प्रकशित गरिने भएको छ । त्यसपछि निर्वाचनको औपचारिक प्रक्रिया (मनोनयन, मनोनयनमाथि दाबी विरोध, उम्मेदवारको अन्तिम नामावली प्रकाशन, मतदान र मतगणना गरिने छ । यी सम्पूर्ण प्रक्रिया १७ अक्टोबरभित्र पूरा हुने जनाइएको छ ।
४ शिशुको जन्म
धनगढीकी खगित्रा शाहीले चम्ल्याहा (चार शिशु)लाई जन्मदिएकी छिन् । सत्ताइस वर्षीया शाहीले सिनामङ्गलस्थित काठमाडाँै मेडिकल कलेजमा बुधबार तीन छोरा र एक छोरीलाई जन्म दिएकी उहाँकी उपचारमा संलग्न स्त्रीरोग विशेषज्ञ प्राध्यापक चिकित्सक चन्दा कार्कीले जानकारी दिइन् ।
आठ महिनाको गर्भलाई उनी लगायतको चिकित्सकको टोलीले शल्यक्रियामार्फत ती नवजात शिशुको जन्म गराएको थियो । हाल ती शिशुको अवस्था सामान्य रहेको छ । ती नवजात तीन शिशुको तौल क्रमश ः १.४, १.५, १.६ केजी र एकको ९५० ग्राम रहेको अस्पतालले जनाएको छ । सामान्यतया नवजात शिशु जन्मिँदा २ देखि २.५ किलो हुनुपर्ने मानिन्छ । धनगढीबाट उपचार गर्न सो अस्पतालमा ल्याइएको खगित्राका श्रीमान् पद्म शाहीले जानकारी दिए ।
चम्ल्याहा शिशुको जन्म विरलै हुने गर्दछ । खगित्राको सामान्य अवस्थामा गर्भ रही चम्ल्याहा जन्मिएका प्रा डा कार्कीले बताइन् । ती शिशुलाई केही साता विशेष निगरानीमा राखी स्वास्थ्य सेवा प्रदान गर्नुपर्ने जनाइएको छ ।
दुई डिस्टीलरी सञ्चालक कारागारमा
अन्तःशुल्कको स्टिकर हिनामिना गरी करोडौँ राजश्व छल्ने जिल्लाका दुई डिष्टीलरी सञ्चालकलाई आन्तरिक राजश्व कार्यालयले रु ३१ करोडभन्दा बढी जरिवानासहित एक–एक वर्ष कैद गर्ने निर्णय गरेको छ ।
जिल्लामा सञ्चालित जयश्री धौलागिरि डिष्टीलरी र उदयपुर डिस्टलरीले अन्तःशुल्कको स्टिकर हिनामिना गरी राजश्व छलेका प्रमाणित भएकाले उक्त कार्यालयले गत मङ्गलबार दुवै उद्योगका सञ्चालकलाई सो कारबाही गरेको हो । उदयपुर डिष्टीलरीले ३६ लाख ६९ हजार ७४२ थान अन्तःशुल्क स्टिकर हिनामिना गरेकाले त्यसका सञ्चालक ओमप्रकाश कलवारलाई रू २६ करोड १६ लाख जरिवानासहित एक वर्ष कैद र धौलागिरि डिष्टीलरीले सात लाख ४५ हजार ६१५ थान अन्तःशुल्क स्टिकर हिनामिना गरेकाले त्यसका सञ्चालक शम्भुशरणप्रसाद कलवारलाई एक वर्ष कैद र रु पाँच करोड ४७ लाख जरिवाना गरिएको उक्त कार्यालयका प्रमुख गोपीकृष्ण कोइरालाले जानकारी दिए ।
दुवै सञ्चालकको जायजेथा बिक्री तथा लिलाम गरी जरिवानाको रकम असुलउपर नभए फौजदारीसंहितानुसार थप सात वर्ष कैद सजाय गरिने उक्त कार्यालयले जनाएको छ । दुवै उद्योग सञ्चालकलाई वीरगञ्ज कारागार पठाइएको छ ।
मनकारी जनप्रतिनिधि
म्याग्दीका एक जनप्रतिनिधिले आफूले पारिश्रमिकबापत पाउने तलब विद्यार्थीलाई सहयोग गरेर उदाहरणीय काम गरेका छन् ।
उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका अध्यक्ष क्याप्टेन डमबहादुर गर्बुजा पुनले आफ्नो दुई महीना बढीको पारिश्रमिक तीन विद्यार्थीलाई सहयोग गरेर उदाहरणीय काम गरेका हुन् । उनले गत वर्षको एसइई परीक्षामा उत्कृष्ट अङ्क ल्याउने तीन विद्यार्थीलाई एक लाख रुपैयाँ सहयोग गरेका हुन् ।
अनलाइनबाट सबैलाई टिकटको सुविधा
नेपालीको महान चाड दशैँ नजिकिएसँगै सबैलाई आ–आफ्नो घर जाने चटारो शुरू भएको छ । दशैँको अग्रिम टिकट बुकिङ खुल्ला भएपछि यात्रुहरू राति नै गएर बस टिकटका लागि लाइन लाग्ने गरेका छन् । तर धेरैजसो यात्रुले टिकट पाउन नसकेको गुनासो गर्दै आएका छन् ।
पछिल्लो समयमा अनलाइनबाट बस टिकट काट्न सकिने भएपछि अनलाइन टिकटिङमा पनि आकर्षण बढेको छ । यात्रुलाई अनलाइन टिकट उपलब्ध गराएर सुविधा दिन सकिने बससेवा डटकमका सञ्चालक बताउँछन् । यातायात व्यवसायीले सिट संख्या कम दिँदा सबैलाई अनलाइन टिकट उपलब्ध गराउन मुस्किल परेको बससेवाका संस्थापक पिआर खनालले बताए ।
अघिल्लो वर्षमा करीब चार हजार यात्रुले अनलाइन टिकट काटेका थिए भने यो वर्ष बुकिङ खुलेको चारदिनमै करीब ८ हजार जनाले टिकट काटिसकेको उनको भनाइ छ । टिकट काट्ने दिन अझै बाँकी रहेको हुनाले यो वर्ष धेरै यात्रुले अनलाइनबाट टिकट काट्ने अनुमान गरिएकोे छ ।