२९ असार २०८३, सोमबार

जाजरकोटको नलगाड जलविद्युत् आयोजनामा लगानीका लागि जाइका तयार

जाजरकोटको नलगाड जलविद्युत् आयोजनामा लगानीका लागि जाइका तयार

काठमाडौं – सरकारले जाजरकोटमा आयोजनास्थल रहेको नलगाड जलविद्युत् आयोजनालाई सार्वजनिक निजी साझेदारीमा अगाडि बढाउने गरी जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)सँग समझदारी भएको जनाएको छ ।

जापान भ्रमणमा रहेका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले जाइकाका उच्च अधिकारीसँग बिहीवार भएको छलफलमा त्यस्तो समझदारी भएको हो । 

मन्त्री पुन र जाइकाका  कार्यकारी उपाध्यक्ष काजुहिको कोशिकावाबीच बिहीवार भएको भेटवार्तामा परियोजनालाई अघि बढाउने विषयमा सैद्धान्तिक सहमति भएको मन्त्री पुनको सचिवालयले जनाएको छ ।

विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयारीको क्रममा रहेको सो आयोजनाको क्षमतासमेत ७ मेगावाटले बढेर ४१७ मेगावाट पुगेको छ । यसअघि सो आयोजनाको क्षमता ४१० मेगाबाट हुने बताइएको थियो । डीपीआर तयार भएपछि आयोजानलाई अगाडि बढाउने विषयमा छलफल भएको बताइएको छ । 

ऊर्जामन्त्री पुनले जाइकासँग सार्वजनिक निजी साझेदारीमा आयोजना अघि बढाउने गरी प्रस्ताव गरेको र जापानी पक्षले सकारात्मक जवाफ दिँदै सहमति जनाएको थियो । सो आयोजनालाई जाइकाले उच्च प्राथमिकतामा राखेको छ ।

‘जाइकासँगको छलफल अत्यन्तै सकारात्मक भएको छ, डीपीआरको अध्ययनलगत्तै परियोजनालाई अघि बढाउने गरी पहल थाल्ने प्रतिबद्धता जनाउनुभएकाले पनि चाँडै यसले मूर्तरुप पाउनेमा म आशावादी छु,’ मन्त्री पुनले भने ।

छलफलको क्रममा जाइकाका उपाध्यक्ष कोशिकावाले नेपालको ऊर्जा क्षेत्रमा थप लगानी गर्ने प्रतिबद्धतासमेत जनाएका छन् । मन्त्री पुनले नेपाल र जापानबीचको द्विपक्षीय सम्बन्ध, नेपालमा जापानले गरिरहेको लगानी लगायतका विषयमा छलफल गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्