
कावासोती– दशैँ नजिकिँदै गर्दा खसीबोका खरीदका लागि व्यापारी तथा सर्वसाधारण नवलपुर आउन थालेका छन् ।
यहाँका विभिन्न सहकारीले किसानबाट खसीबोका खरीद गरी बिक्री गर्न थालेसँगै उनीहरु नवलपुर आएका हुन् ।
बुटवल, चितवन, पोखरा, काठमाडौंलगायत स्थानबाट व्यापारी खसीबोका खरीद गर्न यहाँ आएका छन् । यहाँका सहकारीले सङ्कलन केन्द्र खोलेका छन् । 'खसीबोका सस्तोमा पाउने भएपछि केही वर्षदेखि नवलपुरबाटै खसीबोका किन्ने गरेको छु', चितवनबाट खसी खरीदका लागि आएका व्यापारी सुनिल तिवारीले भने।
नवलपुरको पहाडी क्षेत्र बाख्रापालनको पकेट क्षेत्रका रुपमा चिनिन्छ । यस वर्ष बाख्रा पकेट क्षेत्रका रुपमा विभिन्न क्षेत्रका कार्यक्रमसमेत सञ्चालन गरिएको छ ।
हुप्सेकोटको झ्यालबासस्थित लेकबेँसी सामाजिक उद्यमी महिला सहकारीले रु दुई करोड ५० लाखभन्दा बढीको खसीबोका बिक्री गर्ने लक्ष्य लिएको छ । विजयादशमीमा सहकारीले करीब दुई हजार खसीबोका बिक्री गर्ने गरी सङ्कलन केन्द्र सञ्चालनमा ल्यएको छ ।
सहकारीले सङ्कलन केन्द्रमा रहेका खसीबोकमालाई जिल्लाका विभिन्न बजारसँगै चितवन, बुटवल, पोखरा, काठमाडाैं पठाउँदै आएको व्यवस्थापक सुशीला परियारले बताए। 'हामीले पाँच वर्षदेखि खसीबोका किसानबाट सङ्कलन गरी बिक्री गर्दै आएका छौँ,' उनले भने।
सहकारीले अहिले प्रतिकिलो रु ४९० का दरले जिउँदो खसीबोकाको मासु बिक्री गरिरहेको छ । दशैँसम्म मूल्य बढेर रु ५१० सम्म पुग्ने उहाँले बताउनुभयो । पहाडी क्षेत्रबाट धेरैजसो खसीबोका झ्यालबासको सङ्कलन केन्द्रमा ल्याउने गरिएको छ । गत वर्ष उक्त सहकारीले रु दुई करोड ८१ लाखको दुई हजार ९८६ खसीबोका बिक्री गरेको थियो । 'यस वर्ष चार हजार खसीबोका बिक्री गर्ने लक्ष्य', परियारले भने।
यस्तै मध्यविन्दु नगरपालिका–१२ तमासपुरमा रहेको अरुणज्योति सामाजिक महिला उद्यमी सहकारीले समेत खसीबोका सङ्कलन गरी बिक्री गर्दै आएको छ ।
तीन वर्षदेखि तमासपुरमा खसीबोका तथा बाख्रा बिक्री केन्द्र स्थापना गरी सहकारीले खसीबोका बिक्री गर्दै आएको व्यवस्थापक सुमित्रा पाल्पालीले बताइन्। बिचौलियामार्फत बिक्री गर्दा किसानलाई नाफा कम हुने र किसानले लगानी गरेअनुसार प्रतिफल पाउन नसक्ने अवस्था थियो । बिक्री केन्द्र स्थापना गरेर सोझै बिक्री गर्न थालेपछि किसानलाई नाफा भएको पाल्पालीले बताइन् ।