०६ असार २०८३, शनिबार

दशैं खर्च जुटाउन सुर्खेतबाट दाङ आइपुगे राउटे मुखिया

दशैं खर्च जुटाउन सुर्खेतबाट दाङ आइपुगे राउटे मुखिया
फाइल फोटो

घोराही – परापूर्वकालदेखि जंगली जीवन बिताउँदै आएका राउटे समुदायका अगुवा दशैं खर्च जुटाउन दाङका विभिन्न सरकारी कार्यालय, संघसंस्था लगायतका स्थानमा आर्थिक रकम जुटाउँदै हिँडेका छन् । 

शुक्रवार घोराही उपमहानगरपालिकामा आर्थिक सहयोग जुटाउन आएका उनीहरूले हालसम्म १० हजार रुपैयाँ जम्मा गरिसकेको पनि जानकारी दिए ।

कुराकानीको क्रममा राउटेका मुखिया नारायणबहादुर शाहीले आफूहरूलाई दशैंमा खसी काट्ने, नयाँ कपडा किन्ने र टीका लगाएर चेलीबेटीलाई दक्षिणा दिनुपर्ने हुँदा आर्थिक सहयोग जुटाउँदै हिँड्नु परेको बाध्यता सुनाए ।

‘हामी सुर्खेतको कान्छी बजार भन्ने जंगलको डाँडामा बस्दै आएका छौं,’ उनले भने, ‘दशैं खर्चको लागि गाडी चढेर दाङसम्म आयौं । दशैंमा खर्च गर्ने पैसा नहुँदा त्यसको जोहो गर्न आया हुँ ।’ शाहीले आफ्नो बस्तीमा करीब २०० राउटे रहेको पनि जानकारी गराए । ‘हामी दाङमा माग्न आएका छौं । अर्को मुखियाको टोली काठमाडौं माग्न गएको छ । जनता (राउटे)लाई पुग्ने खर्च जुटाउने हो ।’

पहिले दाङको जंगलमा पनि केही वर्ष बसेको बताउने राउटेका मुखिया शाहीले पैसा मात्रै नभएर खसी, कुखुरा र नयाँ कपडा दिए पनि लैजाने बताए । ‘हामी ३ जना मुखिया छौं । जनता २०० छन् । हामीले जनतासँग कुरा गरेर माग्न आएका हौं ।’ सरकारले मासिकरुपमा दिँदै आएको २ हजार रुपैयाँ निकै थोरै भएको उनले गुनासो गरे । 

राउटेका मुखिया नारायणबहादुर शाहीसँग १४ वर्षीय बिर्खे शाही र दलाल शाही पनि साथमा आएका थिए । उनीहरूले घोराही उपमहानगरपालिका, जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समिति लगायतका कार्यालयमा पुगेर सहयोग जुटाएका थिए । सामाजिक जीवनबाट टाढा रहेका राउटेहरु अझै पनि शिक्षा र स्वास्थ्यबाट टाढा छन् ।

सुर्खेतबाट दाङसम्म आर्थिक सहयोग माग्न आएका राउटेलाई घोराही उपमहानगरपालिका र जिल्ला प्रशासन कार्यालयले सहयोग गरेका छन् । राउटेलाई घोराही उपमहानगरपालिकाका प्रशासकीय अधिकृत ऋषिराम केसीले २० हजार रुपैयाँ नगद दिएका थिए भने प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले ७ हजार नगद र सुर्खेतसम्मको गाडी भाडाको व्यवस्था गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्