०१ साउन २०८३, शुक्रबार

कर्णाली प्रदेश सभामा सभामुख र सत्तारुढ सांसदबीच चर्काचर्की

असोज १०, २०७६
कर्णाली प्रदेश सभामा सभामुख र सत्तारुढ सांसदबीच चर्काचर्की
फाइल फोटो

सुर्खेत – कर्णाली प्रदेश सभाको चौथो अधिवेशनको अन्तिम बैठकमा नियमापत्ति प्रकरणले सभामुख र सत्तापक्षीय सांसदबीच बहस भएको छ ।

असोज ९ गते नेकपाका सांसद ठम्मर विष्टले सदनमा अस्लिल, अशिष्ट र अप्रिय शब्द बोलेको बताउँदै नेपाली कांग्रेसका सचेतक हिमबहादुर शाहीले ती शब्द रेकर्डबाट हटाउन माग गर्दै शुक्रवारको बैठकको शुरूमै उठेर विरोध गरे ।

कांग्रेस सांसद उठिरहेपछि सभामुख राजबहादुर शाहीले ध्यानाकर्षण भएको बताउँदै प्रक्रिया शुरू गरिने जानकारी दिए । सभामुखको रुलिङपछि प्रतिपक्षी दलका सांसद बसे तर नेकपाका सांसद गोपाल शर्माले बोल्न समय माग गरे तर सभामुख शाहीले शुरूमा बोल्न समय दिएनन् । 

प्रदेशसभा नियमावली २०७४ को दोस्रो संशोधन समितिका संयोजक धर्मराज रेग्मीले दोस्रो संशोधनमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव सभा समक्ष राखे । छलफलमा नेकपाका नेता यामलाल कँडेल, अम्मरबहादुर थापा र सीता नेपालीले भाग लिए । सामान्य छलफलपश्चात् सभामुख शाहीले समितिमा पठाउने प्रस्ताव सर्वसम्मत पारित भएको जानकारी दिए ।

‘यस सभाको मर्यादा र गरिमालाई कायम राख्न समय–समयमा रुलिङ भइराखेको अवस्थामा पनि अझै यदाकदा संसदको मर्यादामा प्रश्न उठ्ने खालका शब्दहरू आइरहेका छन्,’ सभामुख शाहीले भने, ‘यसै सन्दर्भमा प्रदेश सभाको २०७६ असोज ९ गते बसेको ३२ औं बैठकको विशेष समयमा प्रयोग भएका यस प्रकारका शब्दहरूलाई हटाउन संसद सचिवालयलाई निर्देशन दिन्छु ।’

दोस्रो पटक उठेका सांसद शर्मालाई सभामुख शाहीले बोल्न परेन भन्दै बस्न आग्रह गरे तर अर्का सांसद ठम्मर विष्टले अनुमति मागे । ‘नियमावलीको २० मा भनिएको छ, अस्लिल शब्द बोल्न नपाइने व्यवस्था छ । मैले बोलिरहँदा उहाँले नियमापत्ति गर्नुभएन । दोस्रो कुरा म त्यहीँ कुरालाई म नियमापत्ति गर्दछु । किनकि विगतमा प्रमुख प्रतिपक्षी दलका नेता जीवनबहादुर शाहीले कम्युनिस्ट पार्टीको धज्जी उडाउनुभएको छ । कुकुरले पिसाब फेरेको जस्ता कुरा उहाँले बोल्नुभएको छ,’ उनले भने, ‘नेपाली कांग्रेसलाई कुनै पनि आरोप लगाएको छैन । उहाँहरूले जसरी सेवासुविधा लिएर किन बोल्नुभएको छैन ? मुद्दा उठाउने र सहमति गर्ने जस्ता कुरा किन गर्नुभएको छ भनेर प्रश्न सोधेको हो ।’ 

उनी यतिमै रोकिएनन् । उनले अगाडि थपे, ‘सरकारलाई रचनात्मक आलोचना गर्नुस् भनेर भनेको हो । आवेगमा आएर बोलेको होइन । एकपछि अर्को गरी शब्द हटाउँदै जाने हो भने हाम्रो बोलीमा ताला लाग्ने भो ! जनताका कुराका बारेमा बहस गर्ने थलो संसद नै हो । या त के–के बोल्ने भन्ने शब्दकोश बनाउनुपर्ने भो । नत्र कुनै न कुनै हिसाबले ४० जनालाई लाग्ने हो । यो कुरामा कुनै दम छैन । रि–प्ले गरेर सुन्ने हो भने उहाँले नै संसदको मर्यादा उल्लंघन गर्नुभएको छ । हिजोको मात्रै कुरा होइन सधैंको हेरौं अनि हटाऔं ।’

सभामुख शाहीले बोलेका कुरामा नियमापत्ति गर्नुपर्ने बताए । त्यसपछि सचेतक सीता नेपालीले भनिन्, ‘नियमावलीको दफा २५ ले नियमापत्तिको व्यवस्था गरिएको छ । उतिबेला नै नियमापत्ति गर्नुपर्छ । अनि उतिबेला नै हटाउनुपर्छ । हिजो बोलिएको कुरा आज हटाउनु सान्दर्भिक छैन सभामुख महोदय ।’

सदनमा चौथो अधिवेशनको समीक्षा शुरू भयो । राप्रपा सांसद सोशिला शाहीले बोलिन् । लगत्तै फेरि सांसद ठम्मर विष्ट उठे र भने, ‘माननीय सभामुखज्यू, रेकर्डबाट हटाउने कुरा के भो ?’ सभामुख शाहीले भने, ‘मैले कुनै माननीयको नाम लिएको छैन । शब्द पनि भनेको छैन ।’ उनले स्पष्ट पारे तर उनी रोकिन मानेनन् । उनले सभामुखसँग जिज्ञासा राखिरहे । त्यतिबेला रोस्टममा पुगेर नेपाली कांग्रेसका सांसद दिनबन्धु उभिइरहेका थिए ।

अर्का सांसद गोपाल शर्माले अनुमति विना नै उठेर धारणा राखे । सभामुख शाहीले ‘अनुमति विना नै भन्न त भएन नि माननीय’ भनेर निर्देशन दिए । ‘कुनै एउटा पक्षले उठाएको कुरालाई मात्रै ध्यान दिए सभामुख एकपक्षीय भन्ने आरोप लाग्न सक्छ,’ उनले भने, ‘प्रमुख प्रतिपक्षी दलका नेताको मात्रै भनाई एकपटक हेरौं । रि–प्ले गरेर हेरौं । हिजो उहाँले अस्लिल शब्द प्रयोग गर्नुभएन । नियमापत्ति गर्ने हो भने उतिबेलै गर्नुपर्ने सीता नेपालीको भनाई सही हो । नभए सभामुख विवादमा पर्न सक्ने देखियो ।’

सभामुख शाहीले सुझावका लागि धन्यवाद दिँदै मागबारे बसेर सल्लाह गर्न सकिने बताए । त्यसपछि संसद नियमित रुपमा सञ्चालन भयो ।

salt training

कमेन्ट गर्नुहोस्