
काठमाडौं– चाबहिलका तीर्थमान डंगोलकी पत्नी लक्ष्मीको दाहसंस्कार गर्ने बेलामा तनाव व्यहोर्नुपर्यो ।
घाटमा लैजाँदै गर्दा लक्ष्मीको शवै तान्न आए स्थानीय बासिन्दा । चार जनाको समूहमा आएका उनीहरूले अवरोध गर्न खोजेकोमा मलामी जबरजस्ती अगाडि बढेपछि उनीहरू शव तान्न आएका थिए ।
उनीहरूलाई पेलेरै मलामीले शव दाहसंस्कार गर्ने दीप नजिक पुर्याउनुपरेको थियो । ‘शोकको बेलामा पनि यस्तो तनाव व्यहोर्नुपरेको छ,’ डंगोलले सुनाए, ‘यहाँभन्दा ज्यादती के होस् अरू ?’
एक वर्षमा दाहसंस्कारमा अवरोध गरेको यो तेस्रो पटक हो । यसअघि ४९ वर्षीय भीममाया डंगोलको दाहसंस्कारमा पनि त्यसै गरेका थिए ।
‘पहिला अवरोध गर्न हूलका हूल आउँथे । मोटरै तेर्साउँथे,’ स्थानीयबासी हेम डंगोल भन्छन्, ‘यसपालि थोरै आए । एक घण्टाजसो तनाव दिए । हामीले तिनीहरूलाई जबरबजस्ती धकेलेर शव घाटमा पुर्यायौं ।’
यसअघि दाहसंस्कार गर्ने दीप नजिकका घरधनी मिलन जोशीको अगुवाइमा दाहसंस्कारमा अवरोध पुर्याइएको थियो । झन्डै तीन घण्टा तनावग्रस्त भएको थियो मसान घाट ।
तनाव बढ्दै गएपछि प्रहरीको उपस्थितिमा दाहसंस्कार गरिएको थियो ।
त्यसपछि त्यहाँ नयाँ घर बनाउनेहरू, स्थानीयबासी, प्रहरीलगायत बसेर समस्या समाधान गर्न छलफल भएको थियो । छलफलमा नयाँ बस्तीका मिलन जोशी, रामेश्वर केसी, कांग्रेस सांसद नरोत्तम वैद्यलगायत सहभागी थिए । कान्तिपुर दैनिकमा खबर छ ।