२१ असार २०८३, आइतबार

विदेशबाट फर्किएर सामूहिक फूलखेती गर्दै युवा

विदेशबाट फर्किएर सामूहिक फूलखेती गर्दै युवा
फाइल फोटो

दमौली – कामको सिलसिलामा विदेशिएका युवा स्वदेश फर्किएर फूलखेतीमा लागेका छन् । 

लामो समय वैदेशिक रोजगारीमा रहेका जिल्लाको शुक्लागण्डकी नगरपालिका–८ ढोरफिर्दी–६ का युवाले सामूहिक फूलखेती शुरू गरेका हुन् ।

उक्त ठाउँका सूर्यकुमार श्रेष्ठ, महेन्द्र श्रेष्ठ, भरतसिंह ठकुरी, उज्ज्वल श्रेष्ठ, राजु श्रेष्ठ र हेमबहादुर सिंह ठकुरीले जग्गा भाडामा लिएर फूलखेती शुरु गर्नुभएको छ । पहिलो चरणमा छ रोपनी जग्गा भाडामा लिएर फूलखेती थालिएको सूर्यकुमार श्रेष्ठले बताए । ‘विदेशबाट फर्किएर के गर्ने भन्नेमा दोधारमा थियांै, सबै साथीको सल्लाहपछि फूलखेती थालेका हौं,’ उनले भने । 

वडा कार्यालयमार्फत ४ दिनको फूल खेतीसम्बन्धी तालिम लिएपछि काम गर्ने हौसला मिलेको उनको भनाइ छ । आउँदै गरेको तिहारलाई लक्षित गरी फूल लगाइएको श्रेष्ठले बताए ।

नेपालमा फूल पर्याप्त नहुँदा भारतबाट बर्सेनि फूल आयात गर्नुपर्ने बाध्यता रहेकोले शुक्लागण्डकी नगरपालिकालाई फूलमा आत्मनिर्भर बनाउन फूलखेती गरिएको उज्ज्वल श्रेष्ठले जानकारी दिए । ‘नगरपालिकामा बाहिरबाट फूल ल्याउन नपरोस् भनेर फूलखेती गरेका हौं,’ उनले भने, ‘विस्तारै क्षेत्रफल वृद्धि गरेर ठूलो मात्रामा खेती गर्ने लक्ष्य राखेका छौं ।’

सामूहिक फूलखेतीमा लागेका महेन्द्र श्रेष्ठले विदेशको दुःखभन्दा स्वदेशमै केही गर्नुपर्छ भनेर फूलखेतीमा आवद्ध भएको बताए । युवा गाउँमा बेरोजगार भयौं भनेर त्यसै बस्नुभन्दा व्यावसायिक रुपमा केही काम गर्न सके देशमै आत्मनिर्भर बन्न सकिने उनको भनाइ छ ।

पहिलो चरणमा तिहारलाई लक्षित गरी १ लाख रुपैयाँको लगानीमा फूलखेती शुरू गरिएको र अहिलेको नाफाले अझै धेरै जग्गा भाडामा लिएर फूलखेतीलाई अझ विस्तार गर्ने सोचाई रहेको उनले जानकारी दिए ।

चितवनबाट ६० हजार रुपैयाँमा ५ हजार सयपत्री फूलको बिरुवा ल्याएर रोपिएको छ । ‘अर्को वर्षदेखि आफैं बिरुवा उत्पादन गर्ने योजना बनाएका छौं,’ उनले भने ।

शुक्लागण्डकी नगरपालिका–८ का अध्यक्ष कृष्णप्रसाद रेग्मीले विदेशबाट फर्किएर स्वदेशमै आत्मनिर्भर बन्न थालेको व्यवसायलाई वडाको तर्फबाट पनि सहयोग रहने बताए । 

‘फूलखेतीले नगरपालिकालाई आत्मनिर्भर बनाउन सकियो भने बर्सेनि ठूलो मात्रामा फूल ल्याउनुपर्ने बाध्यता अन्त्य हुन्छ,’ रेग्मीले भने ।

salt training

कमेन्ट गर्नुहोस्