०३ असार २०८३, बुधबार

नेता माधव नेपालको खुलासा : राजा ज्ञानेन्द्रले हामीले लेखेर दिएको वक्तव्य पढेका थिए !

नेता माधव नेपालको खुलासा : राजा ज्ञानेन्द्रले हामीले लेखेर दिएको वक्तव्य पढेका थिए !

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले वरिष्ठ कम्युनिस्ट नेता एवं पूर्व अर्थमन्त्री स्व. भरतमोहन अधिकारीको व्यक्तित्वबाट सबैले सिक्नुपर्ने बताएका छन् । 

नेता नेपालले अधिकारीलाई स्पष्ट विचार भएको, सही विषयमा अडान लिन सक्ने र अप्ठ्यारो परेका बेला निकास दिन सक्ने खुबी भएको राजनेताका रुपमा स्मरण गरे । 

२०५१ सालमा तत्कालीन एमालेको ९ महिने सरकारका अर्थमन्त्रीका रुपमा अधिकारीले गाउँगाउँमा बजेट पुर्‍याएको चर्चा गर्दै नेता नेपालले त्यसयताका सबै सरकारले अधिकारीकै सिको गरिरहेको उल्लेख गरे ।

‘भरतमोहनजीमा नयाँ–नयाँ र कलेक्टिभ काम गर्न सक्ने खुबी थियो,’ भरतमोहन अधिकारी स्मृति फाउन्डेसनले शनिवार राजधानीमा गरेको ‘भरतमोहन अधिकारी व्यक्ति एक व्यक्तित्व अनेक’ कार्यक्रममा नेता नेपालले भने, ‘अर्थमन्त्री र लामो समय पार्टीको आर्थिक विभागमा बसेर काम गर्दा कहिल्यै विवादमा आउनुभएन । सुशासनका पक्षमा उहाँ दृढ हुनुहुन्थ्यो ।’

२०४७ सालको संविधान मस्यौदा समितिको सदस्य र २ पटक संविधानसभा सदस्यका रुपमा अधिकारीले संविधान निर्माणमा अतुलनीय योगदान गरेको पनि नेता नेपालले स्मरण गरे । २०६३ वैशाख ११ गते राजा ज्ञानेन्द्र शाहले जारी गरेको विज्ञप्तिको ड्राफ्ट एमालेले गरेर दिएको भन्दै उनले त्यो मस्यौदा लेख्ने काम अधिकारीले गरेको बताए ।

‘कांग्रेस र हामीले छुट्टाछुट्टै ड्राफ्ट दिएका थियौं । दरबारको पनि छुट्टै थियो । हामीले हाम्रो ड्राफ्ट अनुसार राजाको सम्बोधन हुनुपर्छ भन्ने अडान राखेपछि ज्ञानेन्द्रको ९ बजेका लागि हुने भनिएको घोषणा राति ११ बजे भयो,’ नेपालले भने, ‘शुरूमा प्यारा देशबासीहरू र अन्तिममा श्रीपशुपतिनाथले हामी सबैको कल्याण गरुन् भन्ने बाहेक राजाले सबै हामीले लेखेर दिएको पढे । वास्तवमा भन्ने हो भने त्यहीँ घोषणा नै राजतन्त्र अन्त्यको जग थियो ।’ 

कार्यक्रममा पूर्व मन्त्री राधाकृष्ण मैनाली, स्व. अधिकारीका बालसखा समेत रहेका नेता कमल कोइराला, प्राध्यापक कृष्ण पोखरेल, डा. गोविन्दबहादुर थापा र अधिकारी पत्नी सविता अधिकारी लगायतले उनको व्यक्तित्व र कृतित्वको चर्चा गरेका थिए ।

वक्ताहरूले अधिकारी सरल, तल्लो स्तरका ग्रामीण जनताप्रति माया भाव राख्ने स्वभावका र समन्वयकारी व्यक्तित्वका धनी भएको बताएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्