
काठमाडौं – पूर्वप्रधानमन्त्री तथा समाजवादी नेपालका नेता बाबुराम भट्टराईले भारतबाट प्रकाशित हुने अंग्रेजी दैनिक हिन्दुस्तान टाइम्समा शनिवार एक लेख प्रकाशित गराएका छन् । उनलाई लेखमा पूर्वप्रधानमन्त्रीका साथै नेपालमा भएको माओवादी क्रान्तिका योजनाकार भनी चिनाइएको छ ।
उक्त लेखमा उनले भारतीय स्वतन्त्रता संग्रामका अग्रणी नेता महात्मा गान्धी र चिनियाँ कम्युनिस्ट पार्टीका संस्थापक तथा पूर्वराष्ट्रपति माओत्से तुङको दर्शनबीचमा रहेका केही समानताका विषयमा चर्चा गरेका छन् ।
अहिंसावादी गान्धी र जनयुद्ध अनि सांस्कृतिक क्रान्तिमा हिंसा मच्चाएका माओको दर्शनमा भिन्नता भए पनि उनीहरू दुवैले व्यापक मात्रामा जनपरिचालन गरेर आफ्नो देशलाई स्वतन्त्र बनाएको भट्टराईको तर्क छ ।
गान्धी र माओ दुवैले पश्चिमी पूँजीवादी विकास मोडलको आलोचना गरेको भट्टराई लेख्छन् । यी दुवैको विचारलाई समन्वय गरेर भौतिक द्वन्द्ववादको नयाँ परिभाषा बनाउनुपर्ने उनको सुझाव छ ।
नेपालको सम्बन्ध भारत र चीन दुवैसँग मित्रवत रहेकाले गान्धी र माओको भेट यहाँ हुनसक्छ कि भनी भट्टराईले प्रश्न सोधेका छन् ।