
काठमाडौं – युक्रेनका अधिकारीहरूले सैन्य सेवा छल्नका लागि आफ्नी ८१ वर्षीया नातेदारसँग विवाह गर्ने २४ वर्षीय एक युवकमाथि अनुसन्धान गरिरहेका छन् ।
अलेक्जेन्डर कोन्द्रात्युकले आफ्नी नाता पर्ने वृद्धाप्रति स्नेह जागेकोले विवाह गरेको बताउँदै सैन्य कर्तव्य पालन नगर्नका लागि प्रपञ्च रचेको आरोप अस्वीकार गरे ।
युक्रेनमा सैन्यसेवा अनिवार्य छ तर मानिसहरूलाई केही शर्तमा छुट पनि दिइएको छ ।
अपांग पत्नीको स्याहार गर्ने कागजात दुरुस्त देखाउन सकेमा सैन्य सेवामा लाग्नैपर्ने बाध्यता छैन ।
उनीहरूको विवाह बेकोभ्का गाउँमा भएको हो र यो मध्य युक्रेनको पश्चिमी भागमा पर्छ ।
पत्रकारहरूले वृद्धा जिनाइदा इल्लारिओनोभ्नालाई विवाहका बारेमा सोध्दा कोन्द्रात्युक राम्रो पति भएको र आफूलाई ध्यान दिएर स्याहार गरिरहेको बताइन् ।
तर वृद्धाका छिमेकीहरूले कोन्द्रात्युक त्यस क्षेत्रमा पहिले कहिल्यै नदेखिएको बताए ।
उनीहरूका अनुसार, उनी घरमा एक्लै बस्छिन् र उनीहरूको विवाहको एक मात्र चिह्न भनेको विवाहको प्रमाणपत्र मात्र हो । उक्त क्षेत्रमा सैन्यभर्ती गराउनका लागि आएका अधिकारीहरूलाई कोन्द्रात्युकले त्यही प्रमाणपत्र देखाउँथे ।
विवाहको प्रमाण र कथित पत्नीको अपांगता प्रमाणपत्र देखाएर उनी प्रत्येकपटक बच्ने गरेका थिए ।
एजेन्सी