
काठमाडौं – अफगानिस्तानमा शनिवार सम्पन्न आमनिर्वाचनमा जम्मा २० प्रतिशत मतदान भएको छ । बीस लाख मानिसले मात्र भोट दिएको एक अधिकारीले आइतवार बताए ।
अघिल्लो आमनिर्वाचनमा लगभग ७० लाख मानिसले भोट दिएका थिए ।
निर्वाचनलक्षित सुरक्षा कडा पारिएकाले हिंसा त हुन पाएन तर कम मतदान भएकाले अनि धाँधलीको आरोप पनि लागेकाले कसैले प्रस्ट बहुमत नल्याउने आशंका छ । युद्धग्रस्त देशलाई त्यसले थप अव्यवस्थित बनाउने डर छ ।
धेरै अफगानहरूले लडाकू आक्रमणको चुनौतीका बावजूद भोट खसाल्न आउँदा पश्चिमको समर्थनप्राप्त सरकारले लोकतन्त्र जोगाउन गरेको प्रयासको प्रमुख परीक्षण भएको ठानिएको छ ।
कुल ९६ लाख ७० हजार मतदाता रहेको अफगानिस्तानमा जम्मा २० प्रतिशतले मत दिएको एक निर्वाचन अधिकारीले बताए ।
पहिलेका निर्वाचनमा ठगी, मृत्यु र निर्वातन आयोग स्वतन्त्र नभएको आरोप लाग्ने गरेको थियो ।
सुरक्षा व्यवस्था बिग्रेको र तालिबानले चेतावनी पनि दिएकाले धेरै मानिस भोट दिन गएनन् ।
तालिबान लडाकूहरूले देशभरिका अनेकौं मतदान केन्द्रहरूमा आक्रमण गरेर निर्वाचन प्रक्रियालाई विफल बनाउन खोजेको भए पनि कडा सुरक्षा व्यवस्थाका कारण ठूलो स्तरको हिंसा हुन पाएन ।
निर्वाचनको आरम्भिक परिणाम अक्टोबर १९ अघि आउने अपेक्षा छैन । अन्तिम परिणाम त झन् नोभेम्बर ७ अघि आउँदैन ।
कुनै पनि उम्मेदवारले खसेकोमध्ये आधीभन्दा बढी भोट नपाएमा शीर्ष स्थानका दुई उम्मेदवारबीच दोस्रो चरणको निर्वाचन हुनेछ ।
एजेन्सी