
काठमाडौं– निद्रामा घुरेकै कारण श्रीमतीले दुईपटक खाटबाट खसाएको नमिठो अनुभव छ लोकन्थली नयाँबस्तीका श्रीराम कार्कीलाई ।
दोस्रोपटक खाटबाट खसाल्दा कार्कीको हात मर्केको थियो ।
उनले भने, 'घुर्न पनि अति नै घुर्ने रहेछु अनि यस्तो नगरोस् पनि कसरी ? श्रीमतीले खाटबाट खसालेकोमा मलाई केही गुनासो छैन, मोबाइलमा भिडियो खिचेर देखाएकी थिइन्, त्यो सुन्दा त म आफैँ पनि तर्सें !'
यो समस्या कार्कीको मात्र होइन, घरघरकै समस्या हो । मोटोपन भएका मानिसले घुर्नु त सामान्य हो भन्ने गर्छन् । अन्य मानिसले पनि घुरेकै कारण कतिपय परिवारमा समस्या आउने गरेको छ ।
धेरैलाई घुर्ने समस्या रोग हो भन्ने जानकारी पनि नभएको पाइएको छ । कार्कीले उपचारका लागि कुनै पनि चिकित्सककहाँ नगएको र यो रोग हो भनेर आफूलाई जानकारी नभएको बताए।
यस्तै स्नातक दोस्रो वर्षमा अध्ययनरत नविता थापा साथीहरूसँग शैक्षिक भ्रमणमा धादिङ जाँदा बल्ल थाहा भयो उनले घुरेका कारण साथीहरूको निद्रा गायब नै भयो भन्ने । साथीहरूसँग एउटै कोठामा सुत्नु परेको थियो, उनी घुरेकै कारण साथीहरू सुत्न नै सकेनछन् ।
सो घटना सम्झँदै थापा भन्छिन् , 'साथीहरूसँग सुतेर बिहान उठ्दा सबैले मलाई गाली गरे । किन गाली गरे भनेर सुरुमा मलाई पत्तो नै थिएन तर पछि एक जना साथीले भिडियो खिचेको रहेछ, बल्ल थाहा पाएँ कि म त कस्तो डरलाग्ने गरेर घुर्ने रहेछु ।'
नाक, कान, घाँटी विशेषज्ञ डा. निर्मला तामाङका अनुसार धेरैको निद्रामा घुर्ने बानी हुन्छ, वरपरकालाई घुर्ने बानीले समस्या भए पनि आफूले घुरेको छु भन्ने आफैँलाई थाहा हुन्न । उनले निद्रामा घुर्ने बानी मोटोपना भएका र ज्येष्ठ नागरिकमा धेरै हुने जानकारी दिइन्।
घुर्ने बानी पनि एक प्रकारको रोग हो भनेर थाहा नभएको हुनसक्छ तर यो घातक रोग भएको प्रस्ट पार्दै डा. तामाङले भनिन्, 'घुर्ने बानीका कारण मुटु, उच्च रक्तचाप र चिनी रोगलाई नराम्रो असर पार्छ, त्यसकारण यसलाई समयमा नै उपचार गर्नुपर्छ ।'
डा. तामाङले घुर्ने बानी भएको मानिस राति सुत्न सकेको हुँदैन, त्यसैले दिउँसो बढी निद्रा लाग्ने, गाडी, कार्यालय वा विद्यालयमा पनि एकैछिन बस्दा पनि निदाउने जानकारी दिए। सानो बच्चालाई घुर्ने समस्या हुनसक्ने जानकारी दिँदै चिकित्सकको सल्लाह लिनुपर्ने धारणा व्यक्त गरे । गाेरखापत्र दैनिकमा खबर छ ।