२९ जेठ २०८३, शुक्रबार

सभामुखले राजीनामा दिने चर्चा : कसलाई बुझाउने, के छ संवैधानिक व्यवस्था ?

सभामुखले राजीनामा दिने चर्चा : कसलाई बुझाउने, के छ संवैधानिक व्यवस्था ?
फाइल फोटो

काठमाडौं – संसद् सचिवालयमा कार्यरत एक महिला कर्मचारीलाई जबरजस्तीकरणी गरेको आरोप लागेपछि सभामुख कृष्णबहादुर महराले राजीनामा दिने तयारी गरेका छन् ।

अनुसन्धानमा सघाउन भन्दै महराले पार्टीको निर्देशनबमोजिम राजीनामा दिने तयारी गरेको स्रोतले लोकान्तरलाई जानकारी दियो ।

प्रतिनिधिसभा नियमावली, २०७५ अनुसारले सभामुखले उपसभामुखसमक्ष राजीनामा दिनुपर्ने हुन्छ । नियमावलीको नियम २११ मा यससम्बन्धी व्यवस्था छ ।

नियम २११ को उपनियम (१) मा भनिएको छ– 'सभामुखले उपसभामुखलाई सम्बोधन गरी आफ्नो पदबाट राजीनामा दिन सक्नेछ । उपसभामुख वा कुनै सदस्यले राजीनामा दिँदा सभामुखलाई सम्बोधन गरी दिनुपर्नेछ ।'

उपनियम (२) मा राजीनामा सम्बन्धमा सभालाई जनकारी गराउनुपर्ने उल्लेख छ ।

'उपनियम (१) बमोजिम दिइएको राजीनामा अध्यक्षता गर्ने व्यक्तिले बैठकमा पढेर सुनाउने छ । बैठक चालू नरहेको अवस्थामा सूचना पत्रमा प्रकाशन गरिनेछ ।'

संसदको बजेट अधिवेशन यही असोज २ गते सम्पन्न भएकाले अहिले संसद् चालू अवस्थामा छैन । 

नेपालको संविधान, २०७२ को धारा ९१ उपधारा (६) मा सभामुखको पद रिक्त हुनेसम्बन्धी व्यवस्था छ ।

उक्त उपधाराको खण्ड (ख) अनुसार सभामुखले राजीनामा दिएमा सभामुखको पद रिक्त हुनेछ ।

तत्कालीन माओवादी केन्द्रका तर्फबाट दाङ क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभामा निर्वाचित महरा २०७४ फागुन २६ गते सभामुखमा निर्वाचित भएका थिए ।

सभामुखले राजीनामा दिएमा तत्कालका लागि सभामुखले सम्हाल्दै आएको काम उपसभामुखले गर्ने संसद् नियमावलीमा व्यवस्था छ ।

प्रतिनिधि सभामा अहिले नेकपाकै शिवमाया तुम्बाहाम्फे उपसभामुख छिन् ।

संसद्को बजेट अधिवेशन भर्खरै सकिएको र हिउँदे अधिवेशन दशैं, तिहार र छठपछि मात्र शुरू हुने भएकोले संसद्को अधिवेनमा मात्र नयाँ सभामुख चयनको प्रक्रिया शुरू हुनेछ ।

salt training

कमेन्ट गर्नुहोस्