
काठमाडौं– सभामुख कृष्णबहादुर महारामाथि ‘बलात्कार’जस्तो जघन्य अपराधको आरोप लागेपछि मंगलवार नेकपा सचिवालयको आकस्मिक बैठक बस्यो ।
बालुवाटारमा बसेको बैठकमा एक किसिमको सन्नाटा नै थियो ।
अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ त्यसअघि नै छुट्टै छलफल गरेर महरालाई राजीनामा दिन लगाउने निष्कर्षसहित बैठकमा पुगेका थिए ।
अध्यक्षद्वयको निर्णयलाई वैधानिकता दिने हिसाबले मात्र सचिवालय बैठक बसेको थियो । बैठकमा अध्यक्ष ओलीले नै विषयवस्तुलाई प्रवेश गराए ।
‘उहाँलाई राजीनामा दिन लगाउँ’ भन्ने प्रस्ताव पनि अध्यक्षकै तर्फबाट आयो ।
अध्यक्षद्वयको प्रस्तावमा निर्णय नहुने कुरै भएन, प्रस्ताव अनुसारकै निर्णय भयो ।
नेकपामा एकीकरणयता अध्यक्षद्वयका हरेकजसो प्रस्तावमा लालमोहर लाग्ने गरेको छ ।
त्यो ब्रिफिङ जसका कारण ओली–प्रचण्ड यस्तो निष्कर्षमा पुगे !
आइतवार राति भएको घटना सोमवार साँझ सार्वजनिक भएपछि दुवै अध्यक्षले सभामुख महरासँग छुट्टाछुट्टै कुराकानी गरिसकेका थिए ।
घटनाबारे अध्यक्षद्वयलाई एउटा यस्तो ब्रिफिङ भयो, जसका कारण उनीहरू महरालाई राजीनामा नै गराउने निष्कर्षमा पुगे ।
अध्यक्षद्वयलाई भएको ब्रिफिङबारे स्रोतले लोकान्तरसँग भन्यो –
महरा र ती महिलाबीचको चिनजान नयाँ होइन ।
वर्षौंंदेखि उनीहरूबीच निकट सम्बन्ध थियो, एक हिसाबले फ्यामिली मेम्बरजस्तै ।
उक्त कुरा पूर्व माओवादी वृत्तमा धेरै जनालाई थाहा थियो ।
ती महिलाका पतिसँग पनि राम्रो चिनजान र आउजाउ रहेका महरा यसअघि पनि बेलाबेलामा त्यहाँ जाने गरेका थिए ।
आइतवार रात परेपछि महराले ती महिलालाई फोन गरे । महरा नशाको तालमा थिए ।
फोनमा महराले ‘म आज आउँछु’ भनेपछि ती महिलाले आज नआउनुस् भनिन् ।
नशाको तालमा रहेका महराले उनको कुरा सुनेनन्, गाडी लिएर डेरामै पुगे ।
झगडाको शुरूवात महरा पुग्नेबित्तिकै भयो । महराले ती महिलालाई पैसा दिनुपर्ने रहेछ (वा मागिछन्) ।
महराले जवाफ दिएछन्, ‘केको पैसा ? हुन्न पैसासैसा । आज दशैं मनाउने हो ।’
ह्वीस्कीको बोत्तल पनि बोकेर पुगेका थिए, उनी ।
महराले पैसा नदिने भनेपछि ती महिला पनि कडा रूपमै प्रस्तुत भइछन्, ‘यत्रो समयदेखि मागिरा’छु, जहिले पैसा छैन भन्नुहुन्छ, के हो तपाईंको पारा ?’
महिलाको रुखो जवाफपछि नशाको तालमा रहेका महराले हात उठाइहाले ।
उनले पनि हात फर्काइन् । केहीबेर कुटाकुट नै भयो ।
महराले लडाउन पनि खोजेछन् । कुस्ताकुस्ती पर्यो । त्यसदिन शारीरिक सम्पर्क भने भएन ।
आफूले पिटाइ खाएपछि झन् आक्रोशित हुँदै ती महिलाले भनिछन्, ‘मलाई कुट्छस् साला ! अब तँ सिद्धिइस् । पुलिसलाई फोन गर्छु ।’
यति भन्दै रातिको ९ बजेर ३ मिनेट जाँदा उनले १०० नम्बरमा प्रहरीलाई फोन गरिछन् ।
महानगरीय प्रहरी कार्यालयका प्रवक्ता एसएसपी श्यामलाल ज्ञवालीले आइतवार राति ९ बजेर ३ मिनेट जाँदा प्रहरी कन्ट्रोलमा ती महिलाको फोन आएको पुष्टि लोकान्तरसँग गरेका छन् ।
पुलिसलाई फोन गरेपछि पनि महिलाले भनिछन्, ‘अब सिद्धिन्छन् साले ! कि तँ छैनस्, कि म छैन ।’
रिसको पारो झनै तातेपछि महराले ती महिलालाई थप पिटेछन् । रक्सीको बोत्तलले समेत हानेछन् र बाहिरिएछन् ।
यति ब्रिफिङ सुनिसकेपछि ओली र प्रचण्डले महरा रातिको समयमा महिला मात्र भएको ठाउँमा जानु नै गल्ती हो भन्ने निष्कर्ष निकाले ।
बलात्कार भयो कि भएन भन्दा पनि महरा त्यहाँ जानु नै नैतिक हिसाबले गलत भएको निष्कर्षसहित उनीहरूले राजीनामा दिन लगाउने निर्णय गरेको स्रोतले बतायो ।
कसरी आयो मिडियामा ?
महरा बाहिरिएपछि ती महिलाले पूर्व सभामुख समेत रहेकी नेकपा सांसद ओनसरी घर्ती र कांग्रेस सांसद उमा रेग्मीलाई घटनाबारे जानकारी गराइन् । यो आइतवार रातिकै कुरा हो ।
सभामुखबाटै बलात्कार भएको कुराले चकित बनेकी रेग्मीले कांग्रेसका नेताहरूलाई राति नै जानकारी गराइन्, जुन कुरा उनले सञ्चारमाध्यममै भनिसकेकी छन् ।
कांग्रेस वृत्तमा रातिबाटै यो कुरा भुसको आगोजस्तै फैलिसकेको थियो । प्रतिपक्षीका लागि यो भन्दा ठूलो मसला अरू के हुन सक्ला र !
यसलाई अब कसरी बाहिर ल्याउने भन्ने विषयमा गोप्य छलफल भयो । मिडियामार्फत नै बाहिर ल्याउनुपर्ने निष्कर्षपछि यसमा जोडियो कांग्रेस निकट पत्रकार संगठन प्रेस युनियन ।
प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटी सम्पादक रहेको अनलाइन ‘हाम्राकुरा डटकम’मा शिवाकोटीकै बाइलाइनमा यो समाचार पहिलोपटक सार्वजनिक भएको थियो ।