काठमाडौं — स्वास्थ्यका लागि रक्सीको कुनै सुरक्षित मात्रा हुने कुरालाई वैज्ञानिकहरूले खारेज गरेका छन् । मानिसहरूले ‘म त कहिलेकाहीँ पिउने हो, केही हुँदैन’ भने पनि अध्ययनले देखाएअनुसार रक्सीको एक पेग पनि स्वास्थ्यका लागि हानिकारक हुन्छ ।
कुन १९५ देशमा रक्सी सेवनका बारेमा गरिएको उक्त अध्ययनले वर्षमा २८ लाख मानिसको मृत्यु रक्सी सेवनका कारण हुने देखाएको छ ।
वाशिङटन सिएटलस्थित इन्स्टिच्युट फर हेल्थ म्याट्रिक्स एन्ड इभोल्युसनका अनुसन्धानकर्ता म्याक्स ग्रिसवोल्डले भने, ‘रक्सीको कुनै सुरक्षित मात्रा छैन ।’
सीमित मात्रामा रक्सी पिउँदा स्वास्थ्यलाई लाभ हुन्छ भन्ने अध्ययनहरूलाई यसले पूरै खारेज गरिदिएको छ ।
मेडिकल जर्नल द ल्यान्सेटमा प्रकाशित अध्ययनको परिणाम बताउँदै ग्रिसवोल्डले भने, ‘रक्सी सेवनसँग जोडिएको स्वास्थ्य समस्या रक्सी पिएकै अनुपातमा बढ्दै जान्छ ।’
अध्ययनअनुसार, दिनमा दुई पेग रक्सी पिउने मानिसमा रोगको खतरा ७ प्रतिशतसम्म बढ्छ । अनि दिनमा पाँच पेग रित्याउनेहरूलाई गम्भीर रोगको जोखिम ३७ प्रतिशतसम्म बढ्छ ।
सन् २०१६ मा भएका असामयिक मृत्यु तथा अन्य रोगका कारण हुने मृत्युको एक कारण रक्सी सेवन पनि थियो । अध्ययनले के पायो भने रक्सीका कारण हरेक वर्ष २ प्रतिशत महिला र ६.८ प्रतिशत पुरुषको मृत्यु हुने गरेको छ ।
त्यसो त मृत्युका लागि अनेकौं कारण हुन सक्छन् जसमा उच्च रक्तचाप, धूम्रपान, जन्मिँदा कम तौल, समयअगावै जन्म, मोटोपन, उच्च चिनीको मात्रा र प्रदूषण पनि पर्छन् ।
तर रक्सी पिएर हुने मृत्युको संख्या सर्वोपरि छ ।
एजेन्सी