२९ असार २०८३, सोमबार

बुर्कामा लुकाएर मानव तस्करी !

असोज १८, २०७६
बुर्कामा लुकाएर मानव तस्करी !
फाइल तस्वीर

काठमाडौं – बुर्का लगाएका पाँच भारतीय महिला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै भारतको नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल उड्न हिँडेका थिए ।

अध्यागमन अधिकृतलाई भारतीय मतदाता परिचयपत्र र इन्डिगो एयरको बोर्डिङ पास देखाएर उनीहरूले सजिलै प्रस्थान अनुमति लिए । तीन जना अन्तिम सुरक्षा जाँच पास गरेर सरासर प्रतीक्षा कक्षमा पुगे । 

अन्य दुई जना पनि त्यसैगरी अघि बढ्दै थिए । सुरक्षामा खटिएका प्रहरीले रोकेर उनीहरूको नाम सोधे । सुस्तरी हिन्दीमा बोलिरहेकी एक महिला आफ्नो नाम भन्न अकमकाइन् । र, एकछिनपछि उनले जुन भारतीय मतदाता परिचयपत्र देखाएर प्रस्थान अनुमति लिएकी थिइन्, त्यसमा भएको भन्दा अर्कै नाम बताइन् । त्यसपछि यी दुई जनाको झूटको पोल खुल्यो । पक्राउ परे । सुरक्षा जाँच सकेर प्रतीक्षा कक्षमा पुगेका अन्य तीन जनासमेत समातिए ।

घटना असोज १२ को हो । संगठित मानव तस्करीको गिरोहले काभ्रेकी सन्चमाया तामाङ, कञ्चनपुरकी सीतादेवी चौधरी, गुल्मीकी मीना कुँवर, सिन्धुपाल्चोककी कृष्णमाया तामाङ र चलालमाया तामाङलाई भारतीय मतदाता परिचयपत्र बनाएर नाम मात्रै बदलिदिएन, उनीहरूको धर्म, नाम र थरसमेत परिवर्तन गराइदियो । अध्यागमन सुरक्षा छल्नकै लागि उनीहरूले मुस्लिम महिलाले पहिरिने बुर्का लगाएका थिए तर सुरक्षा जाँचमा मतदाता परिचयपत्रमा उल्लेख भएको नाम मिलाउन नसकेपछि उनीहरू प्रहरीको केरकारमा परे ।

लगत्तै प्रहरीले उनीहरूको झोलाको समेत तलासी लिए । भारतीय मतदाता परिचयपत्र र दिल्ली उड्ने इन्डिगो एयरको बोर्डिङ पास देखाएर प्रस्थान अनुमति लिएका उनीहरूले झोलामा सक्कली नेपाली राहदानी, ओमनको भिसा र ओमन एयरको बोर्डिङ पास लुकाएका रहेछन् । उनीहरू एउटा कागजात देखाएर प्रस्थान अनुमति लिई भित्र छिर्ने र त्यसलाई लुकाएर सक्कली परिचय एवं ओमन एयरको बोर्डिङ देखाएर ओमन उड्न चाहन्थे । कान्तिपुर दैनिकमा खबर छ । 
 

salt training

कमेन्ट गर्नुहोस्