०६ साउन २०८३, बुधबार

गोरखा दरबारबाट पठाइयो हनुमानढोकाका लागि फूलपाती

गोरखा दरबारबाट पठाइयो हनुमानढोकाका लागि फूलपाती

गोरखा – जिल्लाको गोरखा दरबारस्थित दशैंघरबाट काठमाडौंको हनुमानढोका दरबारका लागि फूलपाती सहितको डोली पठाइएको छ ।

विधिपूर्वक पूजाअर्चना गरी दरबारका सुसारेले शनिवार बिहानको शुभसाइतमा फूलपातीसहितको डोली काठमाडौं पठाएका हुन् । 

फूलपातीको डोली बा२०च ४३९४ नम्बरको निजी गाडीमा राखेर हनुमान ढोका दरबार पठाइएको गोरखा दरबार हेरचाह अड्डाका सूचना अधिकारी रामेश्वर कट्टेलले जानकारी दिए ।

गोरखाबाट पठाइएको फूलपाती हनुमानढोका दरबार पुर्‍याइएपछि शनिवार साँझ हर्षबढाइका साथ हनुमान ढोका दरबारमा फूलपाती भित्र्याउने प्रचलन छ । गोरखा दरबारको दशैंघरमा पनि शनिवारै साँझ फूलपाती भित्र्याइन्छ ।  

तत्कालीन गोरखाका राजा पृथ्वीनारायण शाहले काठमाडौंको हनुमानढोका दरबारबाट राजकाज शुरू गरेदेखि बर्सेनि बडादशैंको सातौं दिन गोरखा दरबारको दशैंघरबाट फूलपाती सहितको डोली काठमाडौंको हनुमानढोका दरबार पुर्‍याएर भित्र्याउने प्रचलन रहँदै आएको छ ।

गोरखा दरबारको दशैंघरबाट सतिपिपलस्थित फूलपाती चौतारासम्म फूलपातीको डोली दरबारका सुसारेले बोकेर ल्याई त्यहाँबाट हनुमान ढोका दरबार पठाइएको हो ।

गोरखा दरबार हेरचाह अड्डाले गोरखा नगरपालिकाको सहयोग र सतिपिपलको एकता युथ क्लबको संयोजनमा फूलपातीको डोली हनुमानढोका दरबार पठाएको हो । दरबारस्थित दशैं घरबाट बाजागाजा सतिपिपल चौतारासम्म र्‍याली निकाली गोरखाबाट फूलपातीको बढाइँ गरिएको उनले बताए ।

युनिटी अफ गोरखा, गोरखा धिमे पुच (नेवार समूह) का युवाले दरबारबाट सतिपिपलसम्म बाजागाजासहित नृत्य प्रस्तुत गरेका थिए । सतिपिपलबाट युवाले मोटसाइकल र्‍यालीसहित फूलपातीको डोली बोकेको गाडीलाई स्कर्टिङ गरी हनुमान ढोकामा फूलपाती पठाएका हुन् ।

फूलपाती काठमाडौं पठाउनुपूर्व सतिपिपलको फूलपाती चौतारामा आयोजित कार्यक्रममा नगर प्रमुख राजनराज पन्त, वडा नम्बर ६ का अध्यक्ष नारायण अर्याल लगायतले हनुमान ढोकामा फूलपाती पठाउने प्रचलनको चर्चा गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्