
काठमाडौं, २१ चैत — नेपाली सञ्चारमाध्यममा चर्चित कञ्चन प्रकरण टुंगिएको छ । बाजुराका मोहन रेग्मी र ओखलढुंगाकी कञ्चन रेग्मीको प्रकरण एउटा टेलिभिजन कार्यक्रममार्फत प्रकाशित भएपछि चर्चित बनेको थियो ।
मोहनले आफ्नी श्रीमतीलाई राम्रोसँग लालनपालन नगरेको र घरबाट जबर्जस्त निकालिएको कुरा टेलिभिजन कार्यक्रममा प्रसारण भएको थियो । कार्यक्रममा अतिथि बनेर गएकी कञ्चनले आफूलाई श्रीमानका तर्फबाट ठूलो अन्याय भएको बताएकी थिइन् ।
अत्यन्तै भावुक बनाउने अन्तर्वार्ता दिएकी उनले कार्यक्रम प्रसारण भएको केही समयमै ठूलो चर्चा बटुलिन् । दर्शकहरूले मोहनलाई गाली गरे अनि कञ्चनको प्रशंसा गरे ।
तर उक्त विषयको सत्यतथ्य खोज्दै जाँदा कञ्चन नभएर मोहन चाहिँ उक्त सम्बन्धबाट पीडित भएको देखियो । मागी विवाह गरेर दुई सन्तान समेत जन्माएकी श्रीमती कुलतमा फँस्दै गएपछि मोहन अदालतबाटै सम्बन्धविच्छेद गरेर अलग्गिएको तथ्य फेला परेको थियो ।
त्यसपछि चाहिँ मोहन नभएर कञ्चन नै दोषी भएको बरू मिडियामा कञ्चन गलत तरिकाले प्रस्तुत भएको विश्लेषण गरियो ।
कञ्चन कुलतमा फँस्दै गएकी थिइन् । कुलतले गालेपछि उनी सडकमै बस्न थालिन् । त्यसपछि सम्बन्धविच्छेद भयो । अहिले उनी एउटा सामाजिक संस्थाको शरणमा पुगेर त्यहीँ बस्दै आएकी छन् ।
सम्बन्धविच्छेद भएपनि उनलाई लालनपालनको लागि पूर्वपति मोहनले १० लाख रुपैयाँ दिने वाचा गरेका थिए । तर कञ्चन जहिलेपनि कुलतमै रहेको कारणले उनले त्यो रकम चाहिँ दिन मन गरेनन् । कञ्चनबाहेकका अरू
मान्छे (आफन्त)लाई पनि उनले त्यो रकम दिन चाहेनन् ।
११ लाखको अन्तिम हिसाबकिताबटेलिभिजन कार्यक्रममार्फत आफ्नै बेइज्जती गरिएको भएपनि मोहनले अन्ततः पूर्वश्रीमतीलाई ११ लाख रुपैयाँ दिएका छन् । उनले कञ्चनकी आमा छत्रछायाँ न्यौपानेलाई सो रकम प्रदान गरेका छन् ।
आइतवार अधिवक्ताहरू अनि दुवै पक्षका आफन्तहरूको रोहवरमा मोहनले सो रकम न्यौपानेलाई प्रदान गरेका हुन् । मोहनले आफूले पहिलेको वचनअनुसार १० लाख दिने तयारी गरेको भएपनि कञ्चनको माइतीले एक लाख थपिदिन आग्रह गरेपछि ११ लाख नै प्रदान गरेको बताए ।
मोहनले आफूले मानवीयताको हिसाबले उक्त रकम दिएको बताएका छन् । कानूनी रूपमा धेरै वर्षपहिले नै डिभोर्स भएको भएपनि मानवीयताको हिसाबले रकम प्रदान गरेको उनले बताएका छन् । साथै यो विषयलाई अब उप्रान्त नकोट्याउन उनले सबैलाई अनुरोध गरेका छन् ।
सुमनले दिए धन्यवादकञ्चन रेग्मीको अन्तर्वार्ता लिएका पत्रकार सुमन खरेल एकपक्षीय अन्तर्वार्ता गरेको भन्दै विवादमा आएका थिए । उनले आफूलाई समेत थाहा नभएका गलत तथ्यहरू खुल्दै गएपछि कार्यक्रमबाट माफी मागेका थिए । आफूले भूलवश गलत पात्र छनोट गरेको समेत उनले उल्लेख गरेका थिए ।
मोहन रेग्मीले कञ्चनलाई ११ लाख रुपैयाँ हस्तान्तरण गरेपछि सुमनले मोहनलाई धन्यवाद दिएका छन् । उनले मोहन र परिवारका सम्पूर्ण सदस्यलाई समेत धन्यवाद दिएका छन् ।
उनले उक्त अन्तर्वार्ताबाट चोट पुगेका मोहनसँग कार्यक्रममार्फत माफी समेत मागेका थिए ।
पत्रकार खरेलले सामाजिक सञ्जाल फेसबूकमार्फत मोहनलाई धन्यवाद दिएका हुन् ।