२८ जेठ २०८३, बिहीबार

देशमा सुशासन कायम गर्न सरकार प्रतिवद्ध छ : प्रधानमन्त्री ओली

देशमा सुशासन कायम गर्न सरकार प्रतिवद्ध छ : प्रधानमन्त्री ओली
फाइल तस्वीर

झापा –प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा सुशासन कायम गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन् । 

वडादशैं, शुभदीपावली तथा छठ पर्वका अवसरमा सोमवार आफ्नो गृह क्षेत्र झापा क्षेत्र नं. ५ को दमकमा आयोजित ‘शुभकामना आदानप्रदान कार्यक्रम’मा उनले आफूले कुनै पनि भ्रष्टाचार नगर्ने र गर्नेलाई छुटसमेत नहुने बताए। 

प्रधानमन्त्री ओलीले नियम र कानून हरेक नागरिकका लागि समान रहेको उल्लेख गर्दै भ्रष्टाचारको अन्त्य र सुशासन कायम गर्न सरकारले कुनै पनि सम्झौता नगर्ने दृढता व्यक्त गरे। वर्तमान सरकार गठनपछि विपन्न नागरिकको जीवनमा परिवर्तन शुरु भएको बताउँदै उहाँले हुनेखानेको भन्दा पनि हुँदा खानेको जीवनमा परिवर्तन देखिएको भने। 

प्रधानमन्त्री ओलीले भने, ‘वास्तविकरुपमा जो सर्वहारा छन्, विपन्न छन्, उनीहरुमा सरकारको अनुभूति पुगेको छ ।’

कतिपयले धर्मको नाममा र जातको नाममा राजनीति गर्न खोजेपनि त्यस्ता कुराले समाजमा गलत प्रभाव मात्र पार्ने छ भन्दै उनले भौतिक पूर्वाधारदेखि विकासका हरेक पक्षमा सरकारले प्राथमिकताका साथ लागि परेकाले परिवर्तनको प्रभाव देख्न धैर्यता गर्नुपर्नेमा जोड दिए। 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले हरेक वर्षको दशैंमा नवमीको दिन पारेर गृह जिल्लामा शुभकामना आदनप्रदान कार्यक्रम गर्दै आएका छन् । यस अघिका वर्षमा उहाँले झापाको विर्तामोडमा यो कार्यक्रम गर्दै आएका थिए । यस वर्ष भने उहाँले आफ्ने गृहनगर दमकमा कार्यक्रमको आयोजना गरेका हुन् । 

कार्यक्रममा नेपाली काङ्ग्रेसका नेता कृष्णप्रसाद सिटौलाले नेपाली समाजको सद्भाव र एकतालाई बलियो पार्न हरेक चाडवर्पको भूमिका महत्वपूर्ण रहेको बताए।

नेकपाका प्रदेश नं. १ का ईन्चार्ज भिम आचार्यले सुशासन र विकास निर्माणमा सरकार र पार्टी प्रतिवद्धरुपमा लागि परेको भन्दै केही भ्रमलाई चिर्न सवै एक हुनुपर्नेमा जोड दिए। 

स्थानीय कस्मिक पार्टी प्यालेसमा आयोजित कार्यक्रममा प्रदेश नं. १ का प्रमुख डाक्टर गोविन्द तुम्बाहाङ्गले चाडपर्वलाई सांस्कृतिसंगै मौलिकताका रुपमा मनाउनुपर्ने बताए। 

कार्यक्रममा झापाका आदिवासी सन्थाल जातिको सांस्कृतिक नृत्य प्रस्तुत गरिएको थियो । प्रधानमन्त्री ओली आजै काठमाडाैं फर्किएको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले बताए ।

salt training

कमेन्ट गर्नुहोस्