
जनकपुरधाम – बिजया दशमीको अन्तिम दिन मंगलवार जनकपुरधाममा लंका दहन सहित रावण बध कार्यक्रम आयोजन गरिंदैछ ।
स्थानीय महावीर युवा कमिटीको आयोजनामा गत २०६५ साल देखि जनकपुरमा रावण बधको कार्यक्रम आयोजना हुँदै आएको छ । यस बर्ष नयाँ कार्यक्रम लंका दहन समेत समावेश गरिएको राबण बध कार्यक्रमका संयोजक शिबशंकर साहले बताएका छन् ।
३५ फिट उचाईको रावण, ३०/३० फिट उचाईको कुम्भकर्ण र मेघनाथको समेत प्रतिमा बनाईएको छ । प्रतिमा बनाउनका लागि भारतको बिहारका मुझफ्फरपुर कालिगढ रमेश सहनीले १ लाख रुपैयाँमा ठेक्का लिएका छन् । ‘यस पटक रावण सहित तिन वटै प्रतिमाको आँखा समेत चल्ने र उसले हाँसेको आवाज समेत आउने गरी निर्माण गरिएको छ,’ कालिगढ सहनीले भने ।
रावणको दश वटा मुख सहितको प्रतिमा बनाइएको छ । प्रतिमामा ८० वटा बाँस,६० किलोग्राम सुत्रीको चटाई, २ ट्रयाक्टर पराल,कागज, पेन्ट, कपडा आदि सामग्रीको प्रयोग गरिएको छ । ती प्रतिमा बनाउन ५ जना कालिगढहरु बिगत १५ दिन देखि दिन, रात काम गर्दै आएका छन् ।
तिन वटै प्रतिमामा बिभिन्न किसिमका पटाकाहरु सेट गरिएको छ । नागिन पटाका,बम, फुलझरी सहित पटाका सेट गरिएको सहनीले बताए । १ लाख रुपैयाँको पटाका नै किनेर सेट गरिएको कार्यक्रमका संयोजक साह बताउँछन् ।
त्यसै गरी लंका दहनको कार्यक्रम समेत तयार गरिएको छ । धनुष सागरको पोखरीमा ड्राम राखेर कृत्रिम लंका शहरको समेत निर्माण गरिने तयारी गरिएको छ । ‘कुटको शहर जस्तो बनाईनेछ, जसमा अशोक बाटिका निर्माण गरिनेछ,’ त्यसका अतिरिक्त उक्त लंकामा केही राक्षसहरुको समेत प्रतिमा बनाइएको छ । संयोजक साहले भने,’त्यहाँ एउटा सीताको प्रतिमा समेत बनाइने छ ।’ हनुमान बनेर एक जना मानिस त्यहाँ जानेछन् र उक्त लंकालाई दहन गर्ने कार्यक्रम तय गरिएको छ ।

संयोजक साहका अनुसार महावीर युवा कमिटिकै सदस्य समेत रहेका राकेश कुमार मण्डल हनुमान बन्नेछन् र उसले नै गएर उक्त लंका दहन गर्ने कार्यक्रम तय गरिएको छ । पानीमा समेत आतिशबाजी देखाउन सकियोस् भनेर उक्त लंकामा पानी बम सेट गरिएको उनले बताए ।
त्यसै गरी रावण बधका लागि एक जना मानिस धनुष सागरमा डुंगामा चढेर जाने र बध गर्ने कार्यक्रम तय गरिएको छ । ‘यस पटक पनि रामको भूमिका भने जनकपुरधाम उपमहानगरका प्रमुख लाल किशोर साहले निर्बाह गर्ने महावीर युवा कमिटीको बैठक बाट निर्णय गरिएको छ,’ संयोजक साहले बताए । गत बर्ष पनि उनैले रावण बध गरेका थिए ।
यस अघि नेपाली कांग्रेसका नेता बिमलेन्द्र निधि, पुर्ब सांसद संजय कुमार साह, राम मन्दिरका महन्थ राम गिरि, जनकपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष शिब शंकर साहले समेत राम बनेर रावण बध गरिसकेका छन् । ‘को राम बन्ने भन्ने बिषयमा कुनै खासै मापदण्ड त छैन,’ महावीर युवा कमिटीका पुर्ब अध्यक्ष धर्मेन्द्र साहले भने, ‘हामी बैठक बसेर व्यक्तिको व्यक्तित्व हेर्दै छनौट गर्ने गर्छौं ।’

२०६५ साल देखि उक्त कार्यक्रम आयोजन गरिंदै आएको छ । ‘बिगतमा दशैंमा जनकपुरमा महाष्टमी सम्म मात्र मानिसहरुको भिडभाड हुन्थ्यो,’ महावीर युवा कमिटिका पुर्ब अध्यक्ष सुनिल प्रसाद साहले भने, ‘तर,दशौँ दिन सम्म दशैंको रौनक बानौं सकियोस भन्ने उद्देश्यले रावण बधको कार्यक्रम हामीले तय गरेका थियौं ।’ त्यस पछि मानिसहरु जनकपुरमा दशौँ दिन सम्म रुक्ने गरेका साहले बताए ।
जनकपुरको प्रसिद्ध सरोवर धनुष सागर र गङ्गा सागर जोड्ने पोखरीको पुर्बी डिलमा ती प्रतिमाहरु राख्ने गरिन्छ । धनुष सागरको पश्चिम तर्फको डिलमा हजारौं दर्शक सहित आयोजकहरु बस्ने गर्छन् । ’बिगतमा रावण बधको कार्यक्रम मात्र हुँदा १ घण्टामा मात्र कार्यक्रम सकिन्थ्यो,’ संयोजक साहले भने,’ तर यस पटक लंका दहनको कार्यक्रम समेत समेटिएकोले २ देखि साढे २ घण्टा सम्म दर्शकले मनोरंजन लिन पाउनेछन् ।’
मंगलवार साँझ ७ बजे उक्त कार्यक्रम आयोजन गरिने उनले बताए । रावण बधको कार्यक्रममा मात्रै ३ देखि ४ लाख रुपैयाँ सम्म खर्च हुने गरेको उनले बताए । उक्त कार्यक्रम हेर्नका लागि मात्र गाउँ गाउँ बाट समेत मानिसहरु आउने गरेका छन् भने जनकपुरका समेत मानिसहरुको घुइंचो लाग्ने गरेको हुन्छ ।