
कपिल शर्मा अहिले ठूलै विवादमा घेरिएका छन् । सुनिल ग्रोवरसँगको झगडा सार्वजनिक भएपछि कपिललाई शो चलाउनै मुश्किल परिरहेको छ ।

उनीसँग चित्त दुखाएर सुनिल, चन्दन प्रभाकर र अली असगरले त शो नै छोडिसकेका छन् । यही कारणले गर्दा शोको टीआरपी स्वात्तै घटेको छ र युट्युबमा लाइकभन्दा बढी डिसलाइक देखिएका छन् ।
यी सबै कुरालाई मद्देनजर गरेर कपिलको शो देखाउने सोनी च्यानलले उनलाई एक महिनाभित्र सुनिलसँगको झगडा मिलाएर पहिलेकै जस्तो अवस्थामा ल्याउन कडा चेतावनी दिएको छ । यसो नगरेमा कपिलको शोलाई निरन्तरता दिने कि नदिनेमा सोनीले सोचविचार गर्नेछ ।
यस्तो चेतावनी पाएपछि कपिलले कुरा सल्ट्याउनका लागि प्रयत्न गरिरहेका छन् । यो पूरै प्रकरणपछि कपिलले घमण्ड त्यागेर बिग्रेको कुरा मिलाउन ठूलै प्रयास गरिरहेको बुझिएको छ ।
पहिला आफ्नो शोमा आएका पाहुनालाई घन्टौं कुराउने कपिलले आइतवार चाहिँ ‘मेरी प्यारी बिन्दु’ फिल्मको प्रमोसन गर्न आएका परिणीती चोपडा र आयुष्मान खुरानालाई कुराएनन् । समयमै शूटिङ शुरु गरे अनि शो पनि कुनै समस्याविना नै अघि बढ्यो ।
शोमा रहेका एक स्रोतका अनुसार कपिलले शोलाई रमाइलो बनाउन भरमग्दूर प्रयास गरेका थिए । स्रोतले भन्यो, ‘कपिलले पूरै निर्माण समूहसँग घुलमिल गरे अनि सबैसँग मुस्कुराउँदै सेल्फी लिए । परिणीतीले गाएको ‘माना के हम’ गीत पनि गुनगुनाउने कोशिश गरे उनले । अनि शूटिङ सकिएपछि पनि उनी परिणीती र आयुष्मानसँग जिस्किरहे । उनीहरूले कपिलको मुखमा केक पनि दले ।’
यसअघि शुक्रवारको शूटिङमा पनि कपिलले रवीना टण्डनसँग खुबै रमाइलो गतिविधि गरे । रवीनाले पनि शूटिङमा दामी मजा आएको बताइन् ।
कपिलले मे महिनासम्म शोको शूटिङ गर्नेछन् । सोनी च्यानलले त्यतिखेरसम्म कपिललाई परीक्षण अवधिमा राख्नेछ । कपिलले पुरानै शैलीमा शोलाई उँचाइमा राखिरहे भने च्यानलले सम्झौता नवीकरण गर्नेछ ।
समयमा शूटिङस्थलमा आउने, पाहुना र आफ्ना सहकर्मीसँग राम्रो व्यवहार गर्ने अनि सेटमा र बाहिर मर्यादा कायम राख्ने हो भने सम्झौता नवीकरण हुनेछ भनी सोनी च्यानलले कपिललाई बताएको छ ।
बलिउडलाइफ डट्कमबाट