
काठमाडौं- दुईदिवसीय राजकीय भ्रमणमा नेपाल आएका छिमेकी मुलुक चीनका राष्ट्रपति शी चीनफिङको भव्य बिदाइ गरिएको छ ।
सोल्टी होटलदेखि त्रिभुवन विमानस्थलसम्म उनी सवार हुने मार्गमा राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकाय र सर्वसाधारणले उनको बिदाइ गरेका थिए ।
दिउँसो १ः४५ बजे राष्ट्रपति सी आवासीयस्थल सोल्टी होटेलबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलतर्फ जाँदा उनको बिदाइका लागि कर्मचारी र सर्वसाधारण १२ बजेदेखि नै सडकमा दुवै देशको झण्डा लिएर प्रतीक्षारत थिए । उनीहरूले करीब दुई घण्टाको प्रतीक्षापछि राष्ट्रपति शीलाई बिदाइ गर्न पाएका थिए ।
राष्ट्रपति सी सोल्टी होटलबाट विमानस्थल जाँदा सडकका दुवै किनारमा रहेका कर्मचारी, युवा, विद्यार्थी, बालबालिका र सर्वसाधारणले उनलाई नेपाल र चीनको झण्डा हल्लाएर बिदाइ गरेका थिए ।
बिदाइका क्रममा उनलाई विभिन्न जातजातिको पहिचान झल्कने झाँकी, पञ्चेबाजा र नाचसमेत प्रदर्शन गरिएको थियो । कालीमाटी, त्रिपुरेश्वर, थापाथली, माइतीघर मण्डल, बबरमहल, नयाँ बानेश्वर, तीनकुने र विमानस्थलद्वारसम्म उनको बिदाइका लागि सर्वसाधारणको उल्लेखनीय उपस्थिति थियो ।
दिउँसो प्रचण्ड गर्मीको प्रवाह नगरी कर्मचारी र सर्वसाधारण सडकमा राष्ट्रपति सीको बिदाइका लागि ओर्लिएका थिए । सधैँ टेलिभिजन र पत्रपत्रिकामा देखेका राष्ट्रपति शीलाई नजिकैबाट स्वागत र बिदाइ गर्न पाउँदा सर्वसाधारण हर्षित देखिन्थे ।
शनिवार अपराह्न ४ः४५ बजे दुई दिने राजकीय भ्रमणका लागि आएका उनी आइतवार २ः१५ बजे स्वदेश फर्किएका छन् । राष्ट्रपति शीलाई स्वागतका लागि स्वागतद्वार, परम्परागत संस्कृति झल्कने ब्यानर, सडकको दुवैतर्फ फूलसमेत राखिएको थियो ।
चिनियाँ विशिष्ट पाहुनाको आवागमन हुने सडकमा ठाउँठाउँमा ‘सर्वोच्च शिखर सगरमाथाजस्तै उँचो नेपाल चीन मैत्री’, ‘नेपाल चीन मित्रता विशाल, गहन र अटल’, ‘बुद्ध र सगरमाथाको देशमा हार्दिक स्वागत छ’ लेखिएका ब्यानर र स्वागतद्वार बनाइएका थिए । राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी शनिबारदेखि दुईदिने राजकीय भ्रमणमा यहाँ आएका हुन् ।
यसैबीच नेपाल र चीनबीच २० वटा विभिन्न समझदारी भएका छन् ।
नेपाल–चीन हिमालयपार रेलवेको सम्भाव्यता अध्ययनलगायतका विभिन्न समझदारी नेपाल र चीनबीच भएको हो ।
नेपाल र चीनबीच सुशासन क्षमता विकासमा आदानप्रदान तथा सहयोग सम्बन्धी समझदारी, फौजदारी मामिलामा पारस्परिक कानूनी सहायतासम्बन्धी सन्धि, सगरमाथा संरक्षण सहकार्यसम्बन्धी समझदारीलगायतका विषयमा समझदारी भएका छन् ।
त्यस्तै नेपालको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र चीनको यातायात मन्त्रालयबीच चीन–नेपाल सीमापार रेलवे परियोजनासम्बन्धी समझदारी पत्रमामा पनि हस्ताक्षर भएको छ ।



























































तस्वीरहरू : गगन अर्याल/लोकान्तर, रासस र सिन्ह्वा