काठमाडौं – ३८ क्विन्टल सुन तस्करी तथा सनम शाक्य हत्या मुद्दामा अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठन (इन्टरपोल)ले रेड नोटिस जारी गरेका थप एक अभियुक्त संयुक्त अरब इमिरेट्स (युएई)मा पक्राउ परेका छन् । तस्करी गिरोहका एक नाइके कृष्ण गोपाल अग्रवाल ‘काले’लाई नेपाल प्रहरीको आग्रहमा युएई प्रहरीले पक्राउ गरेको हो । उनी गिरोहका मुख्य लगानीकर्तामध्ये एक हुन् ।
दुई साताअघि पक्राउ परेका कृष्णगोपाललाई दुबईबाट नेपाल ल्याउन त्यहाँको प्रहरीसँग सहकार्य भइरहेको नेपाल प्रहरीले जनाएको छ । प्रहरीले खोजी सुरु गरेलगत्तै कृष्णगोपाल गत वर्ष दुबई गएका थिए । झापा शिवसताक्षी नगरपालिका–६ का उनी कालु, काले तथा किसनजस्ता उपनामले चिनिन्थे ।
यसअघि सोही मुद्दामा फरार तीन अभियुक्त दुबईमै पक्राउ परेका थिए । बेनु श्रेष्ठलाई इन्टरपोलको सहयोगमा गत वर्ष नेपाल ल्याइएको हो । अर्का अभियुक्त हरिशरण खड्का र रमेश उप्रेती पनि पक्राउ परिसकेका छन् । एक वर्षदेखि उनलाई नेपाल ल्याउने पहल भइरहेको छ । तर, दुई देशबीच सुपुर्दगी सन्धि नहुँदा नेपाल ल्याउने प्रक्रिया लम्बिएको छ । उनीहरूलाई थुनामा नराखेपछि देश छाड्न नमिल्ने गरी तारेखमा राखिएको छ । रमेश तस्करी गिरोहका नाइके चूडामणि उप्रेती ‘गोरे’का भाइ हुन् । हरिशरण यसअघि पिंगलास्थानमा बरामद भएको साढे ३३ किलो सुन तस्करी मुद्दाका समेत अभियुक्त हुन् ।
सो मुद्दामा फरार १२ जनालाई इन्टरपोलले रेड नोटिस जारी गरेको थियो । जसमध्ये नौजना अझै फरार छन् । नयाँ पत्रिकामा खबर छ ।