काठमाडौँ,२२ चैत - २०७४ वैशाख ३१ गते आइतबार हुने स्थानीय तह निर्वाचनमा प्रयोग गरिने मतदाता परिचयपत्रको छपाइ सोमबार सुरु भएको छ । आयोगको कान्तिपथस्थित केन्द्रीय कार्यालय परिसरमै परिचयपत्र छपाइको कार्य सुरु भएको हो ।
प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले डोल्पा जिल्ला त्रिपुरासुन्दरी नगरपालिका वडा नं. १० का मतदाता सुनकुमारी खत्रीको परिचय नम्बर १०५४०५७९ को मतदाता परिचयपत्र सार्वजनिक गर्दै परिचयपत्र छपाइको शुभारम्भ गरेका हुन् । मतदाता खत्रीको जनप्रभा उच्च माविमा मतदान केन्द्र छ, गोरखापत्रमा खबर छ ।
मतदाताको परिचयपत्र लेमिनेसनसहित तयारी अवस्थामा आएको छ । यो मतदाता परिचयपत्र नयाँ प्रविधि प्रयोग गरी बनाइएको हो । स्थानीय तह निर्वाचनमा यही नयाँ परिचयपत्र प्रयोग गरेर मात्रै मतदान गर्न पाइनेछ ।
यसअघि बनाइएका पुराना परिचयपत्रबाट मतदान गर्न नपाउने आयोगले जनाएको छ । आयोगले आइतबारमात्रै स्थानीय तह निर्वाचनमा एक करोड ४० लाख ५४ हजार ४८२ मतदाताको नामावली स्वीकृत गरेको थियो ।