
धनुषा- राष्ट्रिय जनता पार्टी 'राजपा'का सांसद प्रमोदकुमार साहविरुद्ध पक्राउ पूर्जी जारी भएको छ ।
विमान उड्न ढिला भएको भन्दै सोमवार जनकपुर विमानस्थलमा तोडफोड गरेका सांसद साहविरुद्ध पक्राउ पूर्जी जारी भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी रामेश्वर कार्कीले लोकान्तरलाई जानकारी दिए ।
सोमवार बिहान साढे ११ बजे उड्नुपर्ने बुद्ध एयरको विमान २ बजेसम्म पनि नआएको भन्दै आक्रोशित बनेका सांसद साहले विमानस्थलमा तोडफोड गरेका थिए ।
'जिल्ला प्रहरी धनुषामा उनीविरुद्ध मुद्दा दर्ता भएको छ, उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ,' डीएसपी कार्कीले लोकान्तरसँग भने ।
यसअघि बुद्ध एयर जनकपुरका इन्चार्ज विजयकुमार सिंहले प्रहरीमा उजुरी दर्ता गरेको थिए ।
उजुरीपछि उनीविरुद्ध पक्राउ पूर्जी जारी भएको हो ।