
काठमाडौं- मंगलवार क्रिकेटर पारस खड्काले नेपाली राष्ट्रिय टोलीको कप्तानीबाट राजीनामा दिएका छन् ।
पारसको राजीनामापछि धेरैले अनेकौं टिकाटिप्पणीहरू गरेका छन् । कतिपयले नयाँलाई मौका दिएको आशयका भनाइ व्यक्त गरेका छन् भने केहीले कप्तानीबाट हट्ने निर्णय अलि हतार भएको बताएका छन् ।
यसैबीच नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेले पारस खड्काको मुक्तकण्ठले प्रशंसा गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबूकमा एउटा स्टाटसमा लेखेका छन्, 'तपाईंको भविष्यका प्रयासका लागि हार्दिक शुभकामना र हामी तपाई|लाई सकेसम्म धेरै वर्ष नेपालको प्रतिनिधित्व गरेको देख्न चाहन्छौं ! तपाईं साँच्चिकै एक लिजेन्ड हुनुहुन्छ जसले हाम्रो सबै हृदयमा ठूलो छाप पारेको छ। यहाँ तपाईं क्याप्टेन हुनुहुन्छ ! द लिजेन्ड दाज़ु पारस खड्का !'
कप्तानी छाडेको घोषणा गर्दै पारस खड्काले फेसबूकमा लेखेका छन्–
नेपाल क्रिकेट संघको प्रतिबन्ध हटाइएको कुरा थाहा पाउँदा निकै खुशी लागेको छ ।
नयाँ कमिटीलाई नेपाली क्रिकेट, खेलाडीहरू र सरोकारवालाहरूको भलाइका लागि नयाँ कमिटीले काम गर्न सकोस् भन्ने कामना गर्छु ।
यससँगै म कप्तानको पदबाट राजीनामा दिन्छु । अब नयाँ शुरूआतसहित तथा सबैको प्रतिबद्ध भिजनका साथ कुराहरूलाई अगाडि बढाउनुपर्नेछ ।
म सबै खेलाडी, प्रशिक्षक, अम्पायर, ग्राउन्डस्मेन, साथीहरू र मेरो परिवारलाई यस अविश्वसनीय यात्रामा सहयोग गरेकोमा धन्यवाद दिन चाहन्छु ।
अर्को समयसम्मका लागि बाईबाई ।