काठमाडौं – जापान विश्वविद्यालयकी विद्यार्थी एमी हागालाई निबन्ध लेख्न भनिएको थियो अनि उनले प्राध्यापकलाई कोरा कागज दिइन् । कागजमा निबन्ध लेख्नका लागि हागाले अदृश्य मसी उपयोग गरेकी थिइन् ।
प्राध्यापकले आगोको प्रकाशमा हेर्दा निबन्ध देखे अनि पूर्ण अंक दिए ।
इतिहासकी विद्यार्थी हागालाई निन्जाका बारेमा पढ्न लेख्न खुबै मन लाग्छ । केही समयअघि उनी इगारोको निन्जा संग्रहालय पुगेकी थिइन् । संग्रहालयमा बटुलेको अनुभवका बारेमा प्राध्यापक यूजी यामादाले उनलाई एक निबन्ध लेख्न भनेका थिए र उनले अदृश्य मसी उपयोग गरिन् ।
अदृश्य मसीले चिट्ठी लेख्ने प्रविधिलाई अपूरीदासी भनिन्छ । निन्जा प्रविधि पनि भनिन्छ । हागाले निन्जाप्रति लगाव देखाउनका लागि उक्त मसी प्रयोग गरेकी हुन् । अपूरीदासी जापानको परम्परागत प्रविधि हो जसको उपयोग प्राचीन समयमा गुप्त सन्देश पठाउनका लागि गरिन्थ्यो ।
यस्तो मसी सोयाबीनबाट तयार पारिन्थ्यो । पहिला सोयाबीनलाई भिजाइन्थ्यो अनि पिँधेर मसी बनाइन्थ्यो । कागजलाई आगो नजिक लग्दा मात्र कागजका शब्दहरू देखिन्थे ।
प्राध्यापक यामादाले भने, ‘मैले फरक फरक कोडमा लेखेका रिपोर्टहरू हेरेको छु तर पहिलोपटक अपूरदासी प्रविधिले लेखिएको निबन्ध हात पारें ।’
एजेन्सी