१९ असार २०८३, शुक्रबार

सहयोगापेक्षी खोज्दै सडकमा व्यस्त मेयर दाहाल

सहयोगापेक्षी खोज्दै सडकमा व्यस्त मेयर दाहाल

चितवन – रातको समयमा यहाँको भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल सहयोगापेक्षी खोज्दै नारायणगढको सडक क्षेत्रमा पुग्ने गरेकी छन् । 

दिनभरका कार्यक्रम र सेवाग्राहीको चापका कारण थकित हुने भए पनि महानगर क्षेत्रलाई सहयोगापेक्षी सडक मानव मुक्त बनाउनका लागि उहाँ आँफै सडकमा निस्कन शुरू गरेकी हुन् । 

विगत दुई दिनदेखि साँझ अबेरबाट स्थानीय प्रशासन, प्रहरी, मानव सेवा आश्रमका प्रतिनिधि, समाज सेवीहरुको अगुवाई गर्दै दाहाल सहयोगापेक्षी खोज्दै सडकमा जाने गरेकी छन् । दाहालले भनिन्, 'अब हामी यसलाई निरन्तरता दिन्छौ ।' आउँदो कात्तिक ९ गते भरतपुर महानगरलाई सहयोगापेक्षी सडक मानव मुक्त भरतपुर महानगर घोषणा गर्ने उहाँको संकल्प छ । दाहालले भन्नुभयो, “सहयोगापेक्षी सडक मानवमुक्त पहिलो महानगर बनाउन हामी लागि परेका छौँ ।'

दुई रातको सडक अनुगमनपछि उहाँले तीन थरी मानिस सडकमा भेटिने गरेको बताए। दाहालका अनुसार दुःख पाएका बेशाहारा पहिलो थरी, मानसिक सन्तुलन गुमाएका दोस्रो थरी र नशालु पदार्थ सेवन गरेका तेस्रो थरी मानिस सडकमा हुँदा रहेछन् । तीमध्ये पहिलो चरणमा वेशाहारालाई मुक्त गराउन आफूहरु लागि परेको उनको भनाइ छ । 

दोस्रो र तेस्रो तहकालाई पनि सडकमा आउने वातावरण अन्त्य गर्ने दाहालको संकल्प छ । साँझ झण्डै आठ बजेबाट दाहालसहितको टोली नारायणगढका मुख्य शहरहरुमा पुग्ने गरेको छ । 

सहयोगापेक्षी सडक मानव रहित महानगर घोषणा गर्नका लागि अहिले आन्तरिक तयारी भइरहेको छ । महानगरपालिका भित्रको सडक पेटी र सार्वजनिक स्थानहरुमा नियमित रुपमा सहयोगापेक्षी बेसहारा सडक मानवको रात्रीकालीन अवस्था अध्ययन र उद्धार भइरहेको मानवसेवा आश्रमका संस्थापक केन्द्रीय अध्यक्ष रामजी अधिकारीले जानकारी दिए।

सोमबारबाट शुरु भएको बजार अनुगमनमा सहयोग पुर्‍याउन प्रदेशसभा सदस्य विजय सुवेदी पनि सहभागी हुने गरेका छन् ।

सोमबार पहिलो दिन ४० जनालाई उद्धार गरिएको थियो । तीमध्ये दुई जना मात्र वास्तविक भरतपुरलाई सहयोगापेक्षी बेसहारा सडक मानव रहेका थिए । उनीहरुलाई आश्रमले नै सेवा दिने र बाँकी ३८ जनालाई घर पठाइएको छ ।

यस्तै दोस्रो दिन गए राती २४ जनालाई उद्धार गरिए पनि उनीहरु कोही पनि सहयोगापेक्षी बेसहारा नरहेको अध्यक्ष अधिकारीले बताए। घोषणा अघि र घोषणापछि पनि यसरी नै नियमित रुपमा अवस्था अध्ययन र उद्धार गरिने अधिकारीको भनाइ छ ।

विसं २०६९ भदौ १३ गते मकवानपुरवाट मानवसेवा आश्रमले काम थालेको हो । संस्थापक अध्यक्ष अधिकारीका अनुसार हालसम्म सात प्रदेशका १४ जिल्लाका १६ केन्द्रमार्फत सेवा दिइँदै आएको छ । ती केन्द्रहरुमा ८०० जनाले संरक्षकत्व पाइरहेका छन् । चितवन जिल्लामा चार वर्षमा ५०० जनाभन्दा बढीलाई उद्धार गरिएको अधिकारीको भनाइ छ । 

मानवसेवा आश्रमको सहयोगमा यसअघि गोर्खा नगरपालिका, मकवानपुर जिल्ला, पाल्पाको सिद्धबाबा मन्दिर क्षेत्र, वुटवलको सिद्धबाबा धाम क्षेत्र र काठमाडौंको पशुपति मन्दिर क्षेत्रलाई सहयोगापेक्षी सडकमानव मुक्त क्षेत्र घोषणा गरिएको छ । स्थानीय तह र सरोकारवाला सङ्घ संस्थाको अगुवाइमा ती क्षेत्रहरुलाई सहयोगापेक्षी सडक मानव मुक्त बनाइएको हो । 

salt training

कमेन्ट गर्नुहोस्